पनि ठग भनेर गाली गर्ने घरमा ! यहीं मर्छु भनेको त हो नि । काल पनि आउन्न !' बस विदा मिल्यो । हिंड् खुट्टा ! अहिले सुस्त, अनि कुनामा मोडिएपछि खुशीको उफरपाफरमा !
यही रितले आत्मा एक चिज चाहन्छ, शिक्षा अर्को चिज दिइरहेछ । आत्मा भन्छ 'चङ्गा !' इस्कुल भन्छ 'ढुङ्गा' । एउटा केटाकेटीले आफैं टुडिखेलमा बसेर लुमडी जान दुई बगल हिंड्नुभन्दा तेर्सो जान पाए धेरै हुने थियो भन्ने विचार गर्न लागेको थियो । तर घण्टी बज्छ, कराल चेहरा भएको चश्मादार उडुवा मास्टर बेतको छडी लिएर क्लासमा पसे । 'लौ भन् ! हल र स्टिभन्सन साहबको एघारौं थियोरेम्', कण्ठस्थ लप्टन जाँचकले सिपाहीको पाठ बुझे झैं । बस ! कपाल कन्याउन लाग्यो, कपाल कन्याइले आएको कुरा कुइरो भयो, 'क ख' र 'ग क' दुईटै भन्दा 'ख ग' ठुलो छ भन्ने प्रमाणित गर्नुपर्यो ! 'वाः खुब धक्कु लगाउँथिस् त !' गोबरको मगजमा उम्रिउका यी क्या हुन् ?' तलास खलबलियो । 'अरु ! भन् अरु गधा' गधाले रेखागणित प्रकृत तवरले बुझ्यो त्यो लुमडी जाने बाटोमा तर यो अप्राकृतिक तवरमा मानिस गधामनितिर ओर्ल्यो मगजै चलेन ! 'यो जस्तो बोधो गधा मैले देखिनँ । थाप् हात !' उत्तेजना पाउँदी कल्पना तत्वन्वेषिणी बनेर प्राकृत जीवनमा नव–नव प्राप्ति गर्दै संसारको मोहनी अनुभव गर्न चाहन्थ्यो तर त्यो आठ पहर पढाउने खुला विश्वविद्यालयबाट वञ्चित भएर प्राकृत सिद्धान्त र तत्वलाई नासमझसँग जोडेको र जबर्जस्तीले रङाएको, बेतदार अनुशासनद्वारा मगजका मोहनीले चुम्बकिंदा गिर्खाहरुलाई बङ्ग्याएर उही मास्टरजीको 'विद्या भनेको मेचमा बस्न पाउनु हो' भन्ने स्वाङ बढाउने क्रियामा नआई रेखागणितका निमित्त बिचरो सम्बर्द्धनशील बाल्य मस्तिष्क लाचार रहन्छ ।
हामी खाना दिन जान्दैनौं । दिने तवर पनि ठिक किसिमको छैन । इस्कुलको नास्तिकताले पचास या सय मनुष्यमा एउटै आत्मा हुन्छ भन्दछ । व्यक्तित्वको अभिरुचिअनुसार पोषण छैन । आर्यसंस्कार दिनु आधुनिक शिक्षकको वृत्ति छ । हामी उल्था गर्छौ; विदेशलाई श्रेष्ठता दिन्छौं । शिक्षित नेपालले आफ्नो घर कहिल्यै पनि बुझ्दैन । नेपाली भाषामा लेखिएका उही चिज नराम्रा हुन्छन्, या तिनमा हृदयस्पर्शिता रहँदेन, अङ्ग्रेजीमा उल्था गरे तिनै चिज दिलदार हुन्छन् । अङ्ग्रेजी शब्दकोषका