शिक्षक पनि पढाउन जान्दैन । शिक्षा जञ्जीर नहोस्, सिक्री नहोस्, नहोस् ऐठेन; होस् प्राकृत विकासलाई सहायता दिने प्राकृत उपाय । साङ्गो गराओस्, तर हठ सिद्धान्ती नबनोस् र चारैतर्फ देखाओस् । अकाट्य अनन्त नियमहरुको होश दिलाओस् तर संकुचित बन्धनले नजेलोस् । शिक्षाले आत्मालाई बाधा नबनाओस् तर प्रकृतिका र जीवनका क्षेत्रमा स्वतन्त्रतान्वेषक बनाओस् । हाम्रा सबै शक्तिको प्राकृत विकास गरोस् र अर्धविकसित अवस्थामा राखेर हामीलाई साङ्गो कट्टर नबनाओस् । पूर्णतातिर लैजानु यसको ध्येय होस् । भित्रबाट प्रकाशका निमित्त ठाउँ खोजिरहेका शक्तिहरुलाई यसले प्राकृत मार्ग दिन सकोस् ।
पढाउनुमा केही कृत्रिमता छैन भन्न कोही सक्तैन । लडाकालाई वाग्मतीमा पौडी खेल्न मन गइरहेछ, तर शिक्षकले कान निमोठेर भन्छ– 'पढ ! पढ !! दुई तियाँ छ, दुई चौका आठ' बागीको आत्मा अनन्त च्याँठ अनुभव गरेर भन्दछ, 'यसमा के मोहनी ? दोहोर्यायो, दोहोर्यायो, आखिर उत्तिकै ! यी अङ्कका खुट्टा छैनन् न, दुई चौका आठै हुनुमा के मज्जा ? कहिले दस कहिले बाह्र होस् न । अनि पो मज्जा ! एकोहोरो ठाउँमा सधैं उस्तैउस्तै टुङ्गिनुमा उसलाई मजा लाग्दैन । ऊ बन्धन चाहँदैन; कहिले खुर्र दगुरोस् न 'दुई चौका दश, दुई पञ्चे दुई सय' होस् त अनि पौडी खेलेजस्तो हुन्थ्यो । अनि त्यो दुई एउटा पुल होस्, अर्को खोला । अनि त्यो चार मुँगफली छोडाउने सहपाठी हुन् ! त्यसो भए पो मजा । शरीर तौलमा राख्न, टाउको ठाडोको ठाडै पानीमाथि । अनि माछाजस्तो हातरुपी पयरले चालिंदै बहँदै आफ्नो मजाको दिशामा जानु, अलिकति पानी पनि खाइने होओस् ! त्यहाँ छ खतराको मजा ! त्यो नभएको दुनियाँले के काम ? यहाँ खालि कान निमोठ्छन् या हातमा एकै छिन रन्न तातो डाम लगाइदिने त हुन् नि ! यहाँ जीवन ! यहाँ जडाउ र ज्ञानहरु जिल्ददार छन् । 'मास्टरजीको चश्माले हेर्नको के चासो ?' यस्ताका विरोधी क्रिया अचेल र सचेल दुवै तवरले चलिरहेको बेलामा त्यो वैवेकिक गणित सूत्रमा मानवात्मा न मोहनी देख्छ, न सार ! जीवनको कुतकुती अरु दिशामा छ ! पौडिनु त्यहाँ डुब्नु छ, पानी खानु छ । अङ्क गणितमा पौडी खेल्दा बेञ्चमनिका खुट्टासम्म चाल्ने मौका रहन्छ ! यसकारण मानवात्मालाई यो बन्धन अप्राकृत असह्य छ । बस ! मास्टरजी कपाल दुख्यो ! ऊँ ऊँ ! आँखा रसाए, म इस्कुल जान्नँ भन्दा