शीत सुँघ्न चाहन्छु । शब्दमा ती चित्र बन्दैनन् जो मैले खुला घाममा देखिरहेछु; तिम्रो सभ्यता यत्तिकै न हो ? मैले यसमा केही मोहनी पाइनँ ।
तर पद्धति पुजारीहरु भन्दछन्, 'त्यो सिद्धान्त त चरा र पशुलाई सायद विरुवालाई पो काम लाग्छ । विवेकशील मानिस क्रमिक विकासद्वारा परिपक्व हुन्छ । युग–युगका औताली किन खेर फाल्ने ? तिनमा अनन्त परिश्रमले छाने–बिनेका चिजहरु छन् । हामी पहिलेदेखिन् सुरु गर्न सक्तैनौं । जीवन छोटो छ, मार्गप्रदर्शक नभई विश्लको विशालता त्यस्तै अतर्स्याउने भुलभुलैया बन्दछ । तत्वान्वेषक वेदनाशील छ र अरुहरुको दुःखद्वारा आफूले दुःख निवारणका आविष्कृत उपायहरु हात लगाउनु नै बुद्धिमानी हो । मानिस अनुभवले सिक्छ र जङ्गली अवरोधहीनतामा मानिसको साम्यदार मानवताको विकासशील सौन्दर्य नियत रेखामा स्पष्टीकृत हुन सक्तैन । मानव–संस्थाहरुमा र शिक्षाक्रमहरुमा पूर्णता नरहनु साधारणै कुरा हो, तर शिक्षा पनि एक कला हो, जसको हामी बेपर्वाह राख्न सक्तैनौं ।'
म तिनीहरुको सबै कुरा काट्न सक्तिनँ तर मेरो मत धेरै कुरामा शिक्षाप्रणालीको विरोधी छ । मलाई शिक्षा भनेको त्यस्तो केही कुरा हुनु पर्दछ जस्तो लाग्दछ जसले किसानको आदत लेओस्, माटो खनोस्, मलिलो बनाओस् । जमिन तयार गरोस् तर प्रकृतिलाई सहायता दिनका निमित्त मात्र, बिउलाई खुला हावा र उज्यालो दिनका निमित्त मात्र, विरुवालाई स्वर्गको किरणबाट पोषण लिने मौका दिनका निमित्त मात्र । मानिस कृत्रिम छैन भन्न म सक्तिनँ । त्यो त बाबा आदमउपरको सरापै हो । नाङ्गै जन्मिनमा बुन्नु, तान बनाउनाको सङ्केत रहे झैं विवेकसम्पन्न हुनुमा कानुनी स्थिति र बन्धनशील विकासहरु अन्तर्गत छन् । तर प्रकृतिको नियम छाडेर एक पाइलाभन्दा पनि मनुष्यतामा सफलता मिल्न सक्तैन भाव र विचारको जगत्मा हामी कतिसम्म प्रकृतिको अनुसार चल्दछौं, अथवा अरुहरुलाई क्रमिक विकास दिनामा हामी कहाँनेर भुल–चुकमा पर्दछौं । जीवनको क्षेत्रमा कुनै रखागणित छैन । त्यहाँ पूर्णबाट पूर्ण निकाले पनि पूर्ण नै बाँकी रहन्छ । एकभित्र परार्ध छ, अणूभित्र विश्व । विज्ञानले सबै कुरा भेट्टाउन सक्तैन र हाम्रा मनोवैज्ञानिक अध्ययनहरु विवेकको अँध्यारो भित्रभित्रै टुङ्गिन्छन् । यसकारणले कुनै