संसारको खँदिलोपन खालि इन्द्रियाभासी छ र पाषाणको कठोरता केवल इन्द्रियसम्पन्नका स्पर्शलाई मात्रै हो । हामी संसारत्याग गर्ने बेलामा सब इन्द्रियग्राहित्व हराएर सपना छोडेझैं चेत पाउँदछौं । संसार सपना हो, तर दिव्य सपना हो, र इन्द्रियहरूका विषयमा हाम्रा सम्बन्धात्मक चेतहरूमा अखँदिलो इत्यादिका भावना आउँदछन् ।
जहाँ जडको स्वतः क्रिया छैन त्यहाँ जड स्वयं आकृति पाउनै सक्तैन, किनकि चिदाभासको क्रियाशीलता नपाई उसमा परिवर्तनशीलतासम्म पनि हुँदैन । हरेक आकृतिलाई चेतनशील अभिप्रायको आवश्यकता छ । एकबाजि शून्य थियो भन्ने हरएक धर्मको विश्वास छ, परमेश्वरले बनाएको जगत्मा इच्छा-लहरहरू नै अभिप्रायणील आकारमा व्यक्त हुँदै खँदिलो भएको जस्तो लाग्छ । विश्वपदार्थ के थियो; परमेश्वरको काल्पनिक चित्ररेखा रङ्ग कि कुनै ईश्वरभिन्न वस्तु ? जो आकारिएको थिएन तर इच्छाले अङ्गित हुँदै उपस्थित विश्वको रूपमा उद्घाटित भयो । यस कुरामा हामी आफ्नो कल्पना फैलाउन सक्तछौं ।