हरेक आकारमा अभिप्राय झल्किंदा हामी संसारलाई अन्धो शून्यता भन्न सक्तैनौं । परिवर्तनका क्रमहरूको पर्दामा दिव्य चित्रकारी, दिव्य रेखाहरू र रङ्गहरू थपिरहेकै छ । आकारहरू आभासित बन्दछन्, बिलाउँछन् । तर हरेकमा दिव्य प्रतिभा झल्केकै देखिन्छ ।
पृथ्वीको गोल आकार, आकाशको रूप, ताराहरूको बनौट सबमा कला पाइन्छ । पृथ्वीको गोलाइले दिन-रात ऋतुसञ्चालनको महिमा राख्तछ, राम्रो समय र देशको नाम-विभाग सजिलो हुनजान्छ । आकाशको गोलाइमा हामी ईश्वरको दिव्य स्थितिको गोलाइ देख्तछौं, जसमा सब चीज ठेगानसँग राखिएको छ । यसको ठूलो गोलामा साना वर्तुलाकृति रूपमा पूर्णका साना पूर्ण झैं ताराहरू झल्किन्छन् ।
शोपन्हारसाहेबको दर्शनमा सारा इच्छाशक्तिकै विकास र तारतम्यको रूपमा संसार दर्शाइएको छ । आकृति केवल इच्छाको विकास हो । रेखाहरू सब अभिप्रायबाट अङ्कित भएका जस्ता विदित हुन्छन् । व्यक्तिमा आभ्यन्तरिक इच्छाहरू रूपमा प्रकाशित हुन्छन् र विश्वमा समष्टिरूप दिव्य इच्छाशक्तिका बनोटहरू जस्ता देखिन्छन् । आँखाको खोपिल्टोमा संरक्षणार्थ अभिप्राय छ । जिभ्रोका गिर्खहरूमा आस्वादनात्मक चमत्कारहरूका सूक्ष्म कला पाइन्छन् । चेहरामा मन झल्किन्छ । फियोको बनोटमा समरभूमिको तयारी छ, माछालाई पानीभित्र सास फेर्न आकार दिइयो, हात्तीको आकारले सूचना दिन्छ कि उसको बुद्धिमा खालि ठूलो हुनु नै सर्वविजयिता रहेछ । परिस्थिति र जीवनका भागहरूले इच्छाको विकास गर्दछन् र हाम्रा इच्छाहरू सुन्दर र सूक्ष्मतिर विकासिनु सभ्यता हो ।
विश्वमा आकृति र अभिप्राय साथसाथ देखिन्छन् र अभिप्रायकै खँदिलो भौतिक रेखालाई हामी आकारको रूपमा देख्तछौं । मलाई बराबर वस्तुहरू खँदिला छैनन् कि भनेर छाम्न मन लाग्दछ; किनकि संसार खालि विश्वनिर्माण-कर्ताको कल्पनारेखा जस्तो विदित हुन्छ । यहाँ खालि सपना, भावना र इच्छाका खँदिलापनहरू मात्र छन् । परमाणुहरू पनि खालि कम्पनका संख्यामा र ढङ्गमा आकारित भएका जस्ता विदित हुन्छन् ! दिव्य इच्छाका लहरहरू नै अङ्कित हुँदा संसारमा वस्तुहरू खँदिला भएजस्तो हाम्रो भित्री चेतले दर्शाउँछ । यो संसार काकताली होइन, अभिप्रायशील विकासशील आकार हो । बाह्य रूपहरू आभ्यन्तरिक कल्पनातत्त्वहरूका खँदिला प्रदर्शन मात्र हुन् कि भन्ने हामीलाई लाग्दछ ।