भाव स्पष्ट हुन्छ । त्यसको खस्रोपनामा कीराहरूसँगको लडाइँ छ; लम्बे लर्कादार लच्काइमा पकड र प्यासको मधुर प्रतिभा झल्कन्छ । अनि प्रौढावस्थामा यो पनि जुँघा हाल्दछ, जसको कोमलता वयः सांकेतिक हुन्छ, मानौं प्रकृतिले यही मानव-अनुकरण गरेर देखाइरहिछिन् र मानौं फल नपाक्तै मनुष्य झुक्किएलान् भनेर आत्मसंरक्षणका निमित्त डशाराको रूपमा राखिएको छ । बीउ पकाउनु बोटको मुख्य अभिप्राय थिया र यसले अनेक लडाइँ, अनेक खोज गरेर सफलता हासिल गरिरहेछ । कहाँबाट आए ती साना हाँस्दा दानाहरू माउ बीउको प्रार्थामक सादृश्यमा ? सदृशले सदृश फलाउँछ । पूर्णबाट पूर्ण निस्किरहेछ । कुन दूध पिए ती बच्चाहरूले ? मानौं पृथ्वीमाता स्तनबाट सबैका आँखा छलेर हेर्न हुँदैन जब मकै पाक्यो जुँघा कल्सेंदो खैरो भएर जरियो, बस । बोटको मूल अभिप्राय खतम भयो । जराहरूले पोषण लिन छोड्दछन् । पातहरू थाकेका हात झैँ ओइलिन थाल्छन्, बोट सुक्तछ, संसारमा आफ्नो अभिप्राय सिद्ध भएको जीव झैं मिताहारी बन्दै जीवनको पकड खुकुलो पार्दै जान्छ । अब आगामी ऋतुका शिशुहरूलाई पोषण गर्नलाई मात्र उसको काम बाँकी छ र वृद्धावस्थाको प्राकृतिक वैराग्य झल्काउने बोट माटोमा लडेर पञ्चमहाभूतमा मिल्दछ र पृथ्वीको नवपोषणात्मक शक्ति बढाइदिन्छ । यहाँ एक जीवन र यसका अनुभवहरू छन् ।
कुनै बान्की कुनै रेखा बेमतलबका छैनन् । जराको रातो जालदेखि पातको धारिलोपनासम्म अभिप्राय छ । हरएक झुकाउमा माने छ, हरएक ढङ्ग र चालमा मतलब छ । त्यहाँ म थाहा पाउँछु कि जीवननेर अभिप्राय रहनेछ । क्षण-क्षणमा वृद्धि र चालहरू अध्ययन गर्दै बसे मलाई साधुका दौलत र वैज्ञानिकका चमत्कारहरू त्यहीं झल्कन्थे ! यसमा बठ्याइँ छन् पत्रचातुरीहरू ! मेरो आँखा मोटामोटी करा मात्रै देख्तछन् । म राम्ररी बोलाऊँ त शायद बोलि पनि हाल्दो हो कि!
त्यस्तै फूलहरूको रङ्गमा अभिप्राय छ । तिनीहरू ठाँट पार्दछन् । जस्तो स्त्रीजातिहरू बैंसमा ठाँट पार्ने स्वाभाविक प्रवृत्ति देखाउँछन् । मौरी बोलाउँछन् र भाले-पोथी केशर मिलाएर सिर्जना गर्दछन् । तिनका आकारमा सौन्दर्य छ । त्यो देख्ता हामी कलाकारको स्पष्ट संकेत पाउँछौं । हाम्रो मानव-कलाले त्यति पैदा गर्न सकेको छैन । रस्किन्साहबको भनाइमा त्यहाँ दिव्य सौन्दर्य, दिव्य हिसाब र दिव्य मिलाप या संगति छ ।