Jump to content

Page:Laxmi nibandhasangraha.pdf/153

From Nepali Proofreaders
This page has been proofread

क्रियाहरूको अध्ययन गरिसकेको थियो ? के उसलाई घामको आवश्यकता पहिले नै विदित थियो ? किनकि उ बेभूल सहज बुद्धिले माथितिर टुसाएर निस्कन्छ र हावाको राज्यमा आनन्दसँग सिर्सिराउँछ ? के उसलाई यो पनि विदित थियो कि टुसाउन र सपना देख्नुका समयका बीचमा केही आफूभित्रबाटै खाना निकालेर उठ्न र उज्यालो देख्नको आत्मबल लिनुपर्छ ? र हेर ! पहिले यसो घुम्रिएर उठ्दछ मानौं हावाका झोक्काहरूले फाटिहाल्ला । तब सुस्त-सुस्त पत्रिंदै बाँडिदै हावामा शिशु व्यायाम लिंदै बढ्दछ । जति बढ्दै जान्छ उति डाँठ पनि दह्रिंदै जान्छ मानौं आत्मविकासको हरहमेशा तौल राखिरहेछ । विकासका क्रमहरूमा आँख्लिन्छ र डाँठ दुर्बल होला भन्ने त्रास फलको आशा साथसाथै बढ्दै रहेको देखिन्छ । उसलाई यादै छ कि हातहरू फैलाएर हल्लाउनुपर्दछ नत्र पाचनक्रियामा गडबड पर्न सम्भव हुन्छ । त्यो हरियो रङ कहाँबाट आयो ? त्यसमा पनि मधुर अभिप्राय छ– हाम्रो आँखाका निमित्त र संशोषणात्मक क्रियाहरूका निमित्त । अनि यो सूर्यका किरणले पोषिएको खेलाडी शिशु मृदुल र कठोरको त्यत्ति मात्रामा काँट राख्तछ, जत्तिले विकास उचित किसिमको हुन्छ । यता पातहरू बढ्दैछन्‌, उता टुसा पलाउँदैछन्‌ । उचित समयमा काम नलाग्ने पातहरू झर्छन्‌ र नवीन पत्तीहरू फैलिएर काम दिँदै जान्छन्‌, यसलाई समयको होश छ, खुम्चिने फैलिने बखतहरू छन्‌ । यो खेल्दछ, जीवनको आनन्द हरएक नसामा राख्तछ । ऋतुको पहिचान, परिस्थितिको होश यसमा पूरा तवरले रहेको विदित हुन्छ । त्यो जीवनको अङ्‌कुर कहाँबाट निस्क्यो, जो यसरी हावामा सर्सराउँछ ? मानौं सूर्य र पृथ्वीले रहस्यमा केही-केही वार्ता गरिसकेका थिए । हामी त्यसलाई फेला पार्दैनौं । यसमा संचालन छ; शोषण छ, पाचन छ, नसाहरूमा स्पर्शिता छ र समयको प्रभाव छ, विकासी बुद्धि छ, उज्यालो छेकिए बाङ्गिएर घामतिर फैलिन खोज्दछ । यसलाई योग्यको अतिजीविता याद छ र यो जीवनको सपना सानो दानामा सुतेको थियो । मानौं त्यसलाई याद थियो कि विशालले विश्व बनाएर स्थिति दिएको छ जहाँ यसलाई विश्वाऽस्वादक जीवनानन्द मिल्न सक्थ्यो । त्यही आशामा यो जीवनको अङ्‌कुर पालन गरेर बसेको थियो । मानौं सानो वासना जस्तो भएर समय पर्खिरहेको थियो । हेर, अब यसका पातहरूमा पनि अभिप्राय झल्किन्छ किनकि त्यसको धारिलोपनमा संरक्षक