वैराग्य
म जबसम्म जवानीको तासीरले गरुँला र भरुँलाहरूका टुनामा आनन्द पाएर सपना देखिरहेको थिएँ, त्यस वेलासम्म मलाई बिलकुल थाहा थिएन कि वैराग्य भनेको कुन चीज हो, यद्यपि म कहिले संसार सपना हो र यसमा सार छैन भन्ने कविता पनि लेख्तथें । आभ्यन्तरिक चैतन्यबाट उठेको वैराग्य मात्र सच्चा स्वरूप धारण गर्दछ र विषयसम्बन्धी दुःखका अनुभवद्वारा भित्रतिर उठेको संसारी निस्सारताको चैतन्य मात्र वैराग्यको आत्मा बन्दछ । खालि पढेर गुनेर मात्र विरक्ति लिनेले अरूहरूको अनुभव-प्रतिबिम्बद्वारा झल्किएका भावहरूलाई रुचाएर संसारको निस्सारताको काल्पनिक अनुभव पाउँदछन् र आफूलाई बुद्धिमान् ठान्दछन् । तर तिनीहरू कच्चा र प्रलोभनशील हुन्छन् । सच्चा वैरागी भनेको त्यो हो जसले जीवनका अनुभवहरूमा अनित्यको परिवर्तनशीलता हुने संयोग, वियोगहरूको तिक्तता अनुभव गर्ने सहृदयता राखेर नित्यको इशारा पाउँदछ र त्यसको पछि दृढतया लाग्दछ– त्यस्तो तीव्र चैतन्यले, जसलाई फेरि विषयको टुनाले बहकाउन सक्तैन ।
शुकजीलाई बाल्यावस्थादेखि नै वैराग्य उत्पन्न भएको थियो । हामी देख्छौं कोही-कोही महापुरुष या साधुहरू पूर्वजन्मका संस्कारद्वारा विषयउपर घृणा र पारमार्थिक सारउपर श्रद्धा उत्पन्न भएर सानै उमेरमा संसार त्याग गर्दारहेछन् । तर भित्र मर्मस्थानमा विषयको वेदना यस्तो हन्छ भन्ने सजीव अनुभव नभई मानिसलाई संसारमा सच्चा तवरले वैराग्य उत्पन्न हुन सक्तो रहेनछ । रोगीहरूको दर्शनमा मिथ्याको स्वरूप झल्किन्छ र हामीहरू असत्यको अत्याचारबाट अमलेख बन्न खोज्दछौं, तर पूर्वजन्महरूका अनुभवद्वारा पनि कोही-कोहीमा सच्चा वैराग्य उठ्न संभव रहेछ ।
जबसम्म हामी संसारमा ठूला हुन चाहन्छौं या यति-उति गरौंला