Jump to content

Page:Laxmi nibandhasangraha.pdf/148

From Nepali Proofreaders
This page has been proofread

र आफ्नो गौरव देखाऔंला भन्ने भाव राख्तछौं, त्यस वेलासम्म हामीलाई वैराग्य भन्ने चीज असम्भव छ । आसक्तिहरू जति बढ्दै गए उति हामीहरू संसारमा महमा टाँसिएका माखाहरू जस्ता बनेर तिनका स्वरूपतिर नजर लगाउन सक्तैनौं । हामीहरू व्यर्थका पुजारी छौं, मिथ्याका अन्धभक्त छौं, बोक्राका अनुचर छौं, अन्धा छौं । हामीहरूलाई झिलिमिलीले अत्याचार गर्दछन्‌ र 'के के न गरुँला खाउँला'-मा हाम्रो अधिकांश जीवन आशाउपर आशा थप्तै चलिरहेको हुन्छ । क्षणिक विषयले हामीलाई त्यसै दौडाउँछ र अनन्तताले हामीलाई त्यसै तर्साउँछ । हामी जीवनलाई माटोमा मिलाउने काम गरिरहेछौं । हामीलाई सानातिना मोलतोल र नजीकका टुना मात्र छन्‌ । जति आँखा साङ्ग्रा भए, उति मानिसलाई झन्‌-झन्‌ ठूलो भएजस्तो लाग्दछ, जति गिर्यो उति म उचालिएँ भन्ने सम्झिन्छ । जति रित्तो भयो उति ठूलो आवाज मात्र निकाल्दछ । संकुचित हृदयमा घमण्ड ज्यादा रहन्छ ।

“अब यति गरुँला भन्दै राग लिएर अपार !
हाय । हरे ! शिव ! घुम्दछ दुनियाँ धन्य हरे संसार ।'

भनेर भर्तृहरि गाउँदछन्‌, किनकि उनलाई विषयमा आसक्ति बढाएर अझ अरू उन्नत हुँदै रहुँला या नवीन प्राप्तिहरू हासिल गरुँला भन्ने भावहरू चक्करमा मात्र घुमिरहेका जस्ता थाहा हुन्छन्‌ । एक मिथ्यासँग संयोग राख्यो र त्यसबाट क्षणिक सुख अनुभव गर्यो, अनि मिथ्याको स्वभावैद्वारा वियोग उत्पन्न हुँदा त्यस सुखबाट वञ्चित हुन गएर हामी दुःखको अनुभव गर्दछौं । तर त्यसको दुःखले पनि वैराग्य पुर्याउन नसकेर फेरि नव-नव संयोगहरू बनाएर हामी आफूलाई हरहमेशा क्षणिकको प्रलोभनमा राख्तछौं । यस्तै गर्दा-गर्दै अनेक चक्करहरू पर्दै जान्छन्‌ र जन्म-जन्मान्तरसम्म हामी मृगतृष्णाका पछि लागिरहेका हुन्छौं । हामीलाई खालि एउटा विशाल भूलभुलैयामा चक्कर मार्नु छ । एक मिथ्याले अर्को मिथ्या उत्पन्न गराउँछ; हामी शून्यमा अलमलिन्छौं र अँधेरीमा चक्कर खान्छौं । हाम्रा मानसिक क्रियाहरूले मिथ्याको आभासमा वक्ररेखा लिएर मनको विशाल स्थितिलाई खालि सत्यको प्राकृतिक शान्तिबाट गडबडाउँछन्‌ र हामी आफ्नै क्रियाका असत्य मायाजालमा लर्बराउँदै धर्मराउँदै रहेका हुन्छौं । यहीं भित्री नरक छ, स्वर्ग पनि, काना गल्लीहरू पनि, बाङ्गाटिङ्गा विषालु बाटाहरू सर्प झैं