Jump to content

Page:Laxmi nibandhasangraha.pdf/146

From Nepali Proofreaders
This page has been proofread

झैं एक हात बाक्लो होला– धानका बोटहरू बालक्रीडा छेक्न राखेजस्ता छन्‌ । त्यसअघि कालो माटोको रङ्ग कोदालीले खनेको ताजापनमा भेदरङ्गी भएर टड्कारिन्छ । त्यो झोपडीपछाडि कालको हातले आवाज बाँधिएझैं हँसियालाई झुस्स-मुस्स पारिरहेछन्‌ । खलबलिएको केश झैं ! तर यो हाम्रो पर्खालैनेरको क्या हो ? न धान न गहुँ ? अवश्य होइन ! नपाकी थाकेजस्तो छ, हरियो हरियो झ्यासाङम्यासाङ सोतर-प्रवृत्तिको सुनौलापनारहित ठाउँ-ठाउँमा बुरुशले बुर्जा बनाएको डामदार शृङ्गारको नयाँ कलेजोपनको केश तलाशी नजीकै आउँछ ।

उः चङ्गा ल्यायो सानो केटोले ! मतिर रातो लामो पुच्छर फर्काएर !– यिनीहरू पनि उडाउन चाहन्छन्‌ आफ्ना मनका लहडी सिर्जनाहरू ! मेरो सिद्धान्तमा एरोप्लेनको दाज्यू चङ्गा नै हो ! पखेटाको अभावमा मनुष्यजातिले हृदयमा चोट परेको चेतले चराहरूलाई गिज्याउन चाहन्थे क्यारे ? 'यी क्या हाम्रा चरा पनि उड्दछन्‌ !' भनेर मान्छे परमेश्वरसँग आछन्न डाहाड देखाउँथे ! मनुष्य अविदिततिर भ्रमण गर्न चाहन्छन्‌– चङ्गालाई उडान दिएर, त्यसका चेतहरू र सजीव अनुभवहरू धागाको नाडीमा बल्केको छाम्न चाहन्छ ।

उता हेर ! कोदाली मच्चिएको ! म जान्दछु फलाम किन सृष्टि भयो ! यो पथमा शान्तिका सुनबाला फल्दछन्‌, कोदाली-दर्शन झुप्रोमा सुत्दछ, ऊ भन्छ ! 'चाहनाको कमी नै महत्त्व हो !' उः कोदालीसँग सभ्यता शुरू भयो ! ऊ भन्छ ! 'आनन्दको निद्रा बेदाग अन्तःकरण र कामको सच्चाइमा छ !' मेरो दिलमा ज्यापू सुखी हुन्छन्‌, भादगाउँले टोपी माटाको सरदारको मुकुट हो । म कतातिर ?– साँखु कि सुन्दरीजलनेर ?– झोपडी बनाएर कल्पनामा खेती गर्न चाहन्छु ! हृदय यस्तै होस्‌ तर सब अरू शिक्षा भूल भन्ने मेरो आदर्श छ ।