मालूम हुन्छ शायद दुई हावाको लहर भेट गरे होलान् जस्तो कल्पनाको लहर वस्तुको याथार्थिक लहराहरूसँग मिल्दै-मिल्दै लेखहरू बन्दछन् । त्यो खँदिलो भयो–सुनसानबाट !
मैले बुझे ! आँखामा चाप पर्नुको कारण तलतिरको झलक रहेछ ! यो पहेंलो धानको मध्याह्नी चहक हो! धेरै जना दशैंलाई खाने समय सम्झन्छन्, शायद टीका लाउने पनि र जूवा खेल्ने पनि ! तर कोजाग्रत पूणिमामा यी धानका खेत सुतेर स्वप्न देख्ता देखेको भए अरू कुरा सम्झन्थे । अहिले यिनमा त्यो नरम स्वप्निलता छैन, यद्यपि शान्ति छ– दूधालु बालाको चञ्चलता छैन–छ अलि-अलि सिर्सिर ! त्यो त बूढै भए पनि जीवनस्वादिनी सङ्केत देखाउने 'रवीन्द्र' स्पन्दनको प्राकृत संकेत जस्तो छ । चौकोस पाताहरू काटिंदैछन् । दुई-तीन कुनिउँले नबताउँदै भन्दछन् कि टुकुचानेरका खेतले तल्सिङ्ग बुझाइसके ! ती कनिउँनिर परिश्रमशील कृषकले नयाँ सपनाको ड्याङ लगाइसक्यो ! के रोप्ला त्यो स्वादिलो पदार्थ जो दरिद्रको डल्लो-डल्लो मजा हो ? अनि त्यहींनेर के त्यो ? म उखु भन्न सक्तिनँ– हो ! शायद जुनेलो होला ? हेर ! धानको बीचमा एउटा रिकेट (सुकेनास) लागेको झीनो बाङ्गे डाँठको रूख टिङ्गरो छ, मानौं सत्यको छाया हो । खेतमा चउन्न थियोरेम् (सूत्र, रेखागणित हल् स्टीभेन्सको) पढ्न लागेझैं छन् । अनि एउटा चुटाहा पराल झटनीहरूको थुप्रो पिरामिडको रूपमा परिणत गर्न लागिरहेछ । जति किसानको प्राकृत बुद्धिमा रेखागणित र सूक्ष्म विज्ञान होलान् त्यति यी वैज्ञानिक यन्त्रालयहरूमा कहाँ पाइँदा होलान् र ? जीवनसँग नजोडिएको भौतिक रसायनशास्त्रहरू यहाँका ठिटाहरूले कलेजमा पढिरहेछन् ! एक पाटामा चुटेका झटनीहरूको कलात्मक गलैंचा र सुकुलबीचको बिछ्यौना देखिन्छ ! अनि हेर त्यो झोपडी ! सानो पुतलीघर जस्तो– जहाँ दुई बच्चा फक्ल्याँटो नभएको ढोकामा बसेका– भर्खर धाननेर बिलाए ! त्यसलाई पनि एउटा रूखले राम्रो बनाएको छ– मानौं नेपालमा घर र रूखहरू सामान्य प्रवृत्तिले संगत छोड्न चाहँदैनन् । आग्नेय ढल्का लिएको चारहाते डाँठमा झीनो झुप्पा छाडेर उत्तर लागेको हाँगो भएको दुई हात फेरि बाङ्गिएर झीनो डाँठले शिरझुप्पा आकाशतिर उठाएर 'म पनि जीवन-सुखको स्पन्दन चाहन्छु' भन्दै हल्लन खोज्दछ– मानौं वायुको घचेडको ईश्वरसंकेतपछि स्वर्गको बास्ना छ ! अनि त्यसअघि सानो बार