प्रतिबिम्बलाई एक मुट्ठी दाना त देऊ । त्यस मुट्टीमा विश्वपोषण भइरहेछ । त्यो पवित्र मुखमा पर्छ र यता विश्वास झिल्किन्छ; उता श्रद्धा दीप्तिन्छ ! भारतको आत्मा एक रामनाममा अडेको छ ! 'नगर हेलाँ, हरि ! तिनलाई जो आए दीन बनी' भन्दै मेरो हृदय भावको नैसर्गिक कविता बोल्न लाग्दछ, जब मेरो घरमा जटाजूट दर्शन पाउँदछु ! यसको विषयमा एउटा 'भिखारी' नामको पाँच-सात वर्षअगाडिको कविता प्यार लागेर, उद्धृत गर्न मन लाग्यो ।
एक दिन म सुतिरहेकै थिएँ । सपना र विपनाको दोसाँधे प्रभात सुनौलापन, शीतको सुगन्ध र चराको कलरवसँग मीठो जागरण पाइरहेको थियो । म नवीनको द्वारभित्र पस्न लागेझैं लाग्यो, त्यसै वेला एउटा साधु चिम्टा बजाएर गाइरहेका थिए–मेरो थाङ्ने आँगनमा ! आधा बुझियो, आधा बुझिएन तर धोबिनीको स्वागतभन्दा मीठो लाग्यो । उनी भन्थे, शायद :-
"जाग जाग हे सुचिर सुताहा ! झलमल घाम उदायो ।
निर्मल आँसु रुनझुनसँगमा छविसँग झल्की आयो ।
रङीविरङ्गी विटपविहारी पंख फिंजीकन धायो !
पूर्व-शिखरमा स्वर्गद्वारको स्वर्ण-कपाट खुलायो !
अन्धकारको निविड अलसपन आँखा खोलन प्यारा !
प्रेमकी तारा झल्किरहेछन् महिमा स्वर्ण उदायो ।'
यो त त्यो जादूको अणुको टुना हो ! म कविता लेख्ने हुनाले अलिअलि बुझ्छु, व्यक्त गर्न सक्तिनँ ! तिनका यी आवाजहरू घरघरमा कति हृदयहरू अँघ्याराबाट ब्यूँझाएर हिडिरहेका होलान् । अनि मैले ब्राउनिङको 'पिप्या पासेज' सम्झें–जो मेरो अंग्रेजी पढ्नाको फल हो ।