Jump to content

Page:Laxmi nibandhasangraha.pdf/140

From Nepali Proofreaders
This page has been proofread

बस्तैन । आँखामा हाल, बिझाउँदैन, ऊ मासु खाँदैन, काटमार लडाइँबाट दूर, शान्ति र प्रेमको जिउँदो चल्दो मूर्तिजस्तो देखिन्छ । उसको नैतिक पराक्रम र साहसअगाडि मेरो पार्थिव ममता र नाटीकुटी प्राकृत तवरले शिर झुकाउँछ । ऊ संकीर्ण-विकीर्ण छैन । म पत्थरमा छाती फोरेर मरिरहेको मान्छे जस्तो छु । म झूटा झल्कापछि दगुर्दछु, ऊ मट्टीतेलको बत्ती बाल्छ । म उसको नजीक प्राचीन भारतनेर पुग्दछु ! र उसको विश्वास, धैर्य र आत्मबल देखेर म चकित बन्दछु, ऊ गङ्गा छ, जहाँ सब नाला मिल्दै शान्त प्रवाह देखिन्छ । म कालो बादल झैं गडगडाउँदै छरिन्छु र शून्य राखेर बिलाउँछु !

मैले के त्याग गर्न सकें ? जब यी काँचका आँखा हुन्‌; यी माटाका कान हन्‌ । म बेहोशमा छु । मृगतृष्णामा जिद्दी गर्नु मेरो बाटो हो । मलाई तेरा रचना रही बोक्रा हन्‌ भने रिस उठ्छ, म जुँघामा ताउ लगाउन पाउनु जीवनको सफलता सम्झन्छु । ढुङ्गा खैंचाखैंचीको झगडालाई जीवन भन्दछु । मैले जाने भन्ने मलाई घमण्ड छ, र मेरा ज्ञान भन्नु खालि धूर्त्याइँ लुच्च्याइँ र भौतिक सामग्रीसँगको परिचय छ । मलाई दाढी बडे गिज्याउँछन्‌ भन्ने डर लाग्दछ, कोट नलगाए 'हा हा' गर्लान्‌ भन्ने त्रास छ र गलबन्दीलाई सौख मान्दछ, ढिकी र जाँतो बोकेर संसारबाट जान चाहन्छु । विष पिएर त्यसको ज्वलनबाट 'बच्‌ बच्चा' भने म रिसाउँछु ! म पाँच मिनेट आँखा मुँदेर एउटा चित्र बनाउन सक्तिनँ, तीन करोड तेत्तीस लाख कुराले मेरा नसा-नसामा जञ्जीर लगाइरहेछन्‌ । म 'आगो खान देऊ ! आगो खान देऊ !' भनेर परमेश्वरलाई रुवाउँदै विष मागिरहेछु, मलाई आफूभित्र कल-पुर्जासिवाय केही छैन जस्तो लाग्छ र दुनियाँको हितभित्र प्राण अर्पण गर्नुपरे शिरका रौंदेखि पयरका औंलासम्म कम्प र थर्थराहट प्रतीत हुन्छ । म विदितसँग कुरा गर्न जान्दिनँ, अस्तु ।

त्यो त्याग जस्तो भस्मलेपी, विषयजेताको मूर्ति मकहाँ एक एक मुठी माग्न आाउँछ–किन ? भारतको आत्मा राख्न ? मलाई खुवाउन ! उ आर्यसभ्यताको खम्बा हो । परमेश्वर माग्न आए एक मुठ्ठी, मेरो आत्मालाई सामल दिन विश्वास र श्रद्धाको गेरुमा, मैले उसलाई सित्तै अर्थनीति सुनाएर रित्तो हात पठाएँ ! भारतको आत्मा दुःखदलित स्थिर भिखारी झैं माग्न आइरहेछ मेरो घरमा । हाय ! धर्मको नाममा ऋषिको