मेरो हृदयमा त्यस व्यक्तिसँग के प्रेम, जो मसँग पैसाको नाता जोड्दछ, जो उपदेश बिक्री गर्छ, जो अहंमानी फुर्ती देखाउँछ ? मपाईंलाई आफैसँग प्रेम छँदैछ, उनी मेरो हृदयमा बस्तैनन् । सिकन्दरको अहंकारभन्दा एरिस्टोटलको हितैषिता मानव-हृदयनजीक आउँछ र पकड लिन्छ । अक्सर मानिसहरू आफ्नै निमित्त हुन्छन् अस्थिपिञ्जर रङ्गाउँछन्, सिंगार्दछन्, 'म' अक्षरलाई राम्रो देख्तछन् र मेरो नजरमा धक्कु लगाउँछन्, म- अगाडि टिम्किन्छन्, मानौं म तिनको पयर मल्न सुहाउँछु । रित्तो हाँसोले मलाई सडकमा स्वागत गर्दछन् । सुन बाँधेको दाँत देखाउन चाहन्छन् ! म बिरामी भए 'ज्या अपशोच !' भन्ने बोक्रे सहानुभूति देखाउँछन् । मेरो मन दुखेको भए विषादको व्यर्थतामा व्याख्यान दिन्छन्, तर मेरो आत्मा जान्दछ कि तिनको छाती खोक्रो छ । म उन्नत भए मित्रहरू मुस्काउँछन् अवनत भए भन्दछन् 'ज्या ! मैले ता भनेको हो कि ?' मानौं उनीहरू नै सर्वज्ञ थिए ! मेरा आत्माको दुःखउपर म उनीहरूअगाडि मुस्काएर हिंड्दछु व्यवहार तानाशाही छ । उनीहरू आफ्नो दुःखलाई रायोको पर्वत बनाउँछन् । मेरा निमित्त शरीरबाटै फुत्त निक्लन सक्ने एउटा भलादमी छैन, जोडका तोडमा छन् । के म तिनसँग हृदयले प्रेम गर्न सक्तछु ? तिनका इज्जत मलाई थिच्तछन्, तिनका उपाधि मिच्तछन्; तिनका आर्थिक स्वार्थिताहरू कैंची काट्तछन्, तिनको गर्व मलाई ठुङ्दछ अनि तिनै मेरा दोस्त रे !
मलाई दुनियाँका हितनिमित्त कोट र पोशाकको गर्हुँगो शिष्टाचार छोड्नेउपर प्राकृत श्रद्धा उठ्तो छ । ऊ मेरो हृदयलाई थिच्तैन । हलुका हुन्छ । ऊ दुनियाँको छोटो ताक र सस्तो नाफा छोडेर मेरो आत्मानजीकै आउँछ, ऊ ज्यादा माग्दैन, मेरो ध्यान मेरो जाँगर र मेरो सजिलो प्राकृतपनमा अत्याचार गर्दैन । ऊ मसँग फोस्रो हाँसो माग्दैन । न बोक्रे मिजास ! त्यसको नङ्गा महलमा म त्यसै आदर राख्तछु । ऊ प्रकृतिनेर छ र उसको सीमा नाघ्ने सहज स्वतन्त्रता देखेर म आह्लादित हुन्छु । ऊ रङ्गीन चश्मा लगाउँदैन, उपदेश बेच्तैन, पैसा बोक्सीको ऐंठनबाट बचेको छ । उसका जिभ्रा, कान, नाक, आँखा, छाला बिगटिन पाउँदैन; उ हप्काइहाल्छ । उसका आँखाले पच्चीस करोडको फिल्म माग्दैनन्, उसका जिभ्रालाई तीन हजार होटेल र परिकारको जरूरत छैन, ऊ थोरैको आनन्दमा हलुका पयर चाल्दछ र दुनियाँको हृदयमा वजन बनेर