रक्ताणु प्राकृत तवरले लाग्दछन् र भित्रबाट तिनका निषेध नाप्नामा के- के चिसो स्पर्श पसेझैं हृदयनिर काँपेर उठ्तछु । म ज्यादा अन्धविश्वासी हुन चाहन्नँ, तर बाबुलाई दुष्ट र विदेशीलाई इष्ट सम्झन सक्तिनँ । मलाई वैज्ञानिक झिलिमिलीहरू अझसम्म 'पराईका पाप' जस्ता लाग्दैछन् । म तिनलाई ग्रहण गर्नमा आधा तर्सिएकै हुन्छु। म विदेशसँग प्रेम राख्न चाहन्छु तर अन्धविश्वासले जीवन समर्पण गर्न सक्तिनँ । अंग्रेजी अध्यापकहरूका मीठो कथाकुथुङ्ग्री सुनेपछि पनि मलाई संस्कृत पण्डितजीहरूसँग पढ्न मन लाग्दै थियो । पादरीको व्याख्यान मलाई राम्रो लाग्छ तर साधुको एक बोली भए पनि सत्य जस्तो लाग्दछ, र बालकले औंला समातेझैं मेरो हृदय आखिर ऋषिकै पछि लाग्दछ ।
म आधुनिक हुन पनि चाहन्छु । बोक्रे अन्धविश्वासदेखि बलवा गर्नु विवेकको स्वभाव हो र प्राचीन सब कुरा बेभूल सत्य होलान् भन्ने कुरामा अन्वेषक आत्मा बराबर शङ्का गर्दछ र समाधान खोज्दछ । मलाई त्यो नास्तिकता होइन, जो ईश्वर छैन भनेर ईश्वरमा आइपुग्न चाहन्छ । नत्र मेरो जेहेनको के काम ? मेरो जीवनका शक्तिहरू निदाइराखे म के मानिस ? म उधिन्न पनि चाहन्छु, उघ्रन पनि, उघार्न पनि ! मलाई मुटुमा के छ भनेर हेर्न मन लाग्दछ ! प्राकृत जिज्ञासा !
'शान्त सरोवरका उर
किस इच्छासे लहराकर
हो उठता चञ्चल, चञ्चल ?'
शङ्का गर्नु बेस हो, किनकि बुझिन्छ, खोतलिन्छ । प्रश्न सबै हो, उत्तर परिपक्वता हो । शिशुलाई गुलाफको फूल चुँड्न मन लाग्दछ, मानौं पत्तीभित्र केही रहस्यमय प्राप्ति छ, तर मेरो आर्यप्रकृति आखिर आड र भरोसा त्यहीं लिन जान्छ जहाँ ऋषिमुनिहरूका जस्ता भस्मलेपन र धैर्यको शान्त मुहार झैं भएर सहज श्रेष्ठताले आत्मालाई शासन गर्दछन् ।
किनकि तिनमा साधुता छ । म शिशु झैं आमा-बाबुलाई लुछ्तै- चुँड्दै बढिरहेछु, तर हाम्रो झगडा होइन । उनीहरूलाई लात मारे पनि आखिर हाँसिदिन्छन् ।