Jump to content

Page:Laxmi nibandhasangraha.pdf/137

From Nepali Proofreaders
This page has been proofread

हाम्रो नफरत छ । 'हट, हट, साधुजी ! म तिमीलाई पैसा दिन पाप सम्झन्छु ।' अनि बिचरा भारतका आत्माका कलेजा काँप्तछन्‌, र साधुजी आँखा वडा लगाएर नवीन सभ्यताको वाङ्‌मुखलाई मूक घृणाले हेर्दछन्‌ । 'के आँखा पल्टाउँछौ, महात्माजी ! चल आफ्नो बाटो ! आजकलको जीवनसंग्रामको घच्चा-घमासानमा पेट सजिलोसँग पुरिदैन बुझ्यौ ? तिमी जस्ता रिसाएर हामी डराउँदैनौं ।' अनि साधु सराप्नु खराब सम्झेर मनमनै भन्दछन्‌ : 'अंग्रेजी भूत सवार भएछ तेरो शिरमा ! बिचरा ! कुन दिन ठम्कर पाएर बुझ्लास्‌ ।'

हामी यस्तै संघर्षणमा छौं । कलेज र संस्कृत पाठशाला मिलिसकेका छैनन्‌ । प्राचीन र नवीनको आँखाजुधाइ परिरहेछ । गाल्ने भाँडोमा जीवन परेको छ । नयाँ विचार र पुराना आदर्शहरू दुई लहरी भएर दुईतिरबाट जुधिरहेछन्‌ । साधुका आँखामा त्यत्तिकै घृणा छ, जत्तिको अर्थशास्त्रको विश्वविद्यालयका अध्यापकको उसका छात्रवर्गहरूको नजरमा । यता जटा छ उता तलाश, यता राम छ उता काम, यता मालामा विश्वास छ उता भालामा, यिनीहरू भस्मलेपन गर्दछन्‌, उनीहरू पाउडर, यिनीहरू चिसो पानीमा नुहाउँछन्‌, उनीहरू तातोमा । यिनलाई रिट्ठा काफी छ, उनलाई चाहिन्छ साबुन, उनीहरू भन्दछन्‌–'दतिउन असभ्य, खस्रो चीज हो ।' यिनीहरू भन्दछन्‌–'तिम्रा दाँत चाँडै झर्दछन्‌ ।' एउटालाई नवीन सभ्यताको बोक्रे झिलिमिली जँच्तछ, अर्कोलाई प्राचीनपना बूढो गोरुको पुच्छर । कन्दमूल एक पुछारमा छ, प्लेट र कटलेट अर्को पुछारमा ! र यिनीहरूको काटाकाटबाट हाम्रो भविष्य कुन रूप धारण गरूँ भन्दै धर्मराइरहेको छ ।

भारतको भविष्य राम्ररी देख्नलाई मेरो नजरमा योग्यता छैन तापनि मलाई प्राचीनको अवहेलना सुनेर कहाँ-कहाँ के-के बिझ्दछ । ऋषिमुनिहरूकै पुत्र हुँ र तिनकै शोणित पवित्र राख्नुमा मेरो जाति र जीवनको प्राण छ । मलाई अंग्रेजीले मेरो सुवर्ण परम्पराबाट अलग गराएर आफ्नो कदममा चलाउन चाहन्छ । म भन्दछु कि कुनै-कनै विषयमा मैले सिक्नु, देख्नु र खोज्नु बाँकी छ र पाश्चात्य समुद्रयात्रा पनि शिक्षाको एक अंश हो । तर म मेरा पुर्खाहरूलाई बिर्सन चाहन्नँ । मलाई बाइबल साहित्य जस्तो लाग्दछ अलि मीठो, तर धर्मपुस्तक मेरा वेद नै हुन्‌ । ऋषिले शनिश्चरबार घर नछाड्नू भनेको कुरामा मेरा