तर मलाई त उल्था भन्यो कि वाक्क लाग्छ । मैले पनि केही उल्था गरेथें । जस्तो साहित्यको प्रातमिक अवस्तामा गरिन्छ । तर 'प्रसिद्ध प्रबन्धहरू' पातलो भएको कारण उल्थासँगको अप्रसन्नता हो, जो लवज तौलने चिच्याटमा र विदेशी वक्रतामा उठेर आउँछन् । अब म धेरै पंखफुका छु । मलाई कुनै म्लेच्छ पङ्क्तिहरू जबर्जस्ती घिच्याएर नाकडोरी लगाउँदैनन् । म अर्काको भनाइ र शैलीमा नत्थिन्नँ । म सागरपारिका जटिल लवजका छायाभेद तौलेर गर्हुँकाउन्नँ । अब मेरो आफ्नै माकुराजाले मगज छ । जसरी बुन आफ्नै जाल, जति रच आफ्नै स्वादले, जता जाऊ आफ्नै यात्रामा ।
काम पनि क्या मजाको र क्या मिल्दो । लहडदासलाई तरंगभन्दा मजा दिने के होला दुनियाँमा ! बस ! गफ गर । अरूले नसुनून् एक्लै छौ, साथी भए कुरा काटने थियो, यहाँ त एक अदृश्य पाठक छ, जो सधैं सुनिदिन्छ, जो चाख लिन्छ, जो 'हाँ' मा हाँ गर्दछ, 'होइन' मा होइन । म यता पल्टाउँछु र उता, न बहस न बहसको बाजे ।न न्यायका रौं चिर्ने भेदहरू, न नियमको चौखुर्याहट, न शैलीको बाँध ।
म भन्छु 'ए मन, तँ रंगिइजा:-रूपौला लहर झल्काई सिलिङ मिलिङ गरेर सलसली नालाहरू वनमा नागवेली पर्दै पहाडका सजिला फेद कुना खोज्दै समुद्रतिर चलमलाउँछन् । सोझै सागर पुग्ने काम तँलाई छैन, तँ त खेल्न आएको पो ! जीवन भनेको नै लहराउनु, तरंगिनु, चलमलाउनु, गुनगुनाउनु, यो बाटो जा भन्ने नियन्त्रण दिने तँलाई कोही छैन, तँ जा तरंगिई, लहडको लहरीमा, आफूखुशीको आनन्द विश्वमा तैँलाई छ । तँलाई न पुराण भन्नु छ, न गर्नु छ शास्त्रार्थ; कोही किनारडुलुवाको कानमा गुनगुन गर्दै अल्सी क्षणलाई बहलाइदे; केही जीवनको गुनगुने रहस्यझल्का झल्काइदे । एकान्तलाई मीठो पार् र अगाडि बढ्, कतै निर्झरको हाम्फाल्नुले, कतै पतलिएको कलकलले । अहा ! के लहडतरगले जीवनको सच्चा मुटु छुँदैन र ?
धेरै जना भन्नेछन्, 'यो के गन्थन ! यो के झुत्रे गफाडी गुन्द्रुक हो ?' तर प्रबन्धले र विदेशीले कुरा बुझाउन लिएको बाङ्गो व्यंग्यसहितको मुस्कुराहट साथमा भन्दछ, 'महाशय ! या पण्डितजी, म त हाँस्न, खेल्न र रमाउन मात्र जन्मेको, म एउटा ठट्यौलो रसिलो साथी हुँ । तपाईको शास्त्र, गर्हुंगो मगज भारी झोक्र्याइ र रौं-चिर्ने बहससँग मेरो गोरु