Jump to content

Page:Laxmi nibandhasangraha.pdf/13

From Nepali Proofreaders
This page has been proofread

बेचेको साइनोसम्म पनि छैन । चट्ट एक विषय टिप्तछु लहडी तवरसँग र त्यससँग खेल्दछु; म त्यसका कन्सिरीका रौं तताउन्नँ, म त्यसको सीङ पक्रेर पुच्छरको टुप्पोसम्म जाँच्तिनँ । म गहिरो छैन, जुन निसास्सिंदो गहिराइमा तपाईंहरू जीवनको सास रोकी डुबुल्की मार्नुहुन्छ, त्यसदेखिन्‌ मलाई प्राकृतिक त्रास छ । म भनेको जीवनको गफाडी टिप्पणी हुँ, म व्याख्यान होइन, न हुँ पाण्डित्य दर्शन । कहिले कहिले एउटा चुरोट च्यापेर टेबिलअगाडि बसेर गफ गर्ने रमाइलो साथी मात्र हुँ ।'

तर त्रिपुंड्रकचन्दनवाला प्राचीनता-प्रेमी गम्भीर महानुभाव बेकोटको पछ्यौरे पोशाकमा बाक्ला आँखीभौं गाँठो पारेर प्रश्न गर्नुहुनेछ -'तब के गफ र गफाष्टक नै साहित्य हो त ? यी आजकलका लेखक असल मगरका नास्ति जुँघा न दाह्री, च्यातेर फ्याँकिदेऊ न यी खोष्टाहरू ! गफ भनेको ता सुन्ने पो हुन्छ। खै यसको साहित्यिक लक्षण ? खै औपदेशिकता र सारात्मक पदार्थ ? न देवाय न धर्माय ? यस्तै बोक्रे खोष्टे छन्‌ आजकल लेखक भनाउँदा ।'

बेचारा हल्के गफाडी प्रबन्धकर्ता कपाल कन्याएर बिन्ती गर्छ, 'खै, यो यस्तै हो । यो टेबिलगफ मात्र हो, शास्त्र होइन । यो एउटा फुर्सतको मनोरञ्जन हो । जब कौमुदीको चिच्च्याहट, दर्शनको लाटोकोसेरो घोराइ, शास्त्रका मगजचक्करीहरूबाट एकछिन पन्छिन र फुर्सत लिन मन लाग्छ, रामेको गफ र चामेको चुट्किलो जवाफ जब सुन्न मन लाग्छ, जो कीराका प्वाल भएका शास्त्रका ठेलीठेलीमा तिरमिराइरहेका थिए, तब यहाँ पाल्नोस्‌ 'यहाँ एउटा रसिलो, हँसिलो, गफाडी, चुट्कुलो कुराकानी छ, जसको नाम प्रबन्ध हो ।'

शब्दचातुर्य नै साहित्य हो भन्नेलाई म जवाफ दिन सक्तिनँ । शैलीमा विश्वास गर्नेसँग मेरो बिन्ती यत्ति छ कि म कुनै शैलीका निमित्त लेख्तिनँ, लेख्तछु लेख्नका निम्ति र आफ्ना विचार भावहरूलाई सकभर सच्चा प्रकाशन गर्नका निमित्त प्राकृतिक तबरले जस्तो विषयमा मन जसरी डुल्यो, जस्तो झल्काझल्की फेला पर्यो, उस्तै लेखिदिन्छु । राम्रो बनाउने सचेत भावले मनुष्यको कला बिग्रन्छ । म नै तीन मासाको छैन; तीन तोलाको अलङ्कारले के भनूँ ! 'अलङ्कार चन्द्रोदय'का नियमानुसार कविता लेखी, सिंगारी-पटारी राम्रो बन्ने, सचेत अनुकरणबाट सौन्दर्य निकाल्ने मेरो निमित्त रद्दी लेखनदास हुन्‌ । म मै जस्तो छु; अरू जस्तो