बीचमा बसेको कल्पना गर्न सक्नुहुन्छ । विचारशून्य क्षणमा आफ्ना सहवासी लेखकहरूका चेहराहरूको अध्ययन गर्दै वा नीलो पहाडी पर्खालले परिवेष्टित पूर्वपट्टिको दृश्य हेर्दै, बीचबीचमा घोप्टिदै लेख्दै गरिरहेको भावना चित्रण गर्न सक्नुहुन्छ ।
म भन्न सक्तिनँ कि म कहाँ काम गरिरहेछु र के काम ? न यो साहित्यको यन्त्रालय हो न यो नेपाल-संसारको नवजागरणको उद्बोधन विभाग । तर यहाँ मलाई कर छैन; दबावट छैन; स्वेच्छाको सजिलो पखेटा फिंजारिन्छ, यन्त्रवृत्तिको कार्य छैन; म यहाँ बसीबसी सारा संसारको भ्रमण गर्न सक्तछु । यो अफिस, अफिस होइन; यो मेरो लेख्ने कोठा हो । नेपाल सरकारको मगजकारखाना हो ।
यही घण्टाघरले शासन गरेको 'स्थापित १९१८' अङ्कित त्रिचन्द्र कलेजको कार्यालयभित्र नेपालका प्रमुख मगजहरूको तालीम, पोषण र तयारी भइरहेको छ । यहीं जवानीका सपनाहरू उम्लिरहेछन्, यहीं आघुनिकताले केन्द्र बनाइरहेछ, यहीं नवीन उन्नतिको छामछाम छुमछुम छ, यहीं दाढीवाल विद्वत्ता ती प्राचीन र अर्वाचीन महाविचारीहरूका भाव-उपदेश दोहर्याइरहेछन्, बुझाइरहेछन् । यसैमा प्राचीन सभ्यताको भण्डाररूप पुस्तकालय पनि छ, यहीं आधुनिकताका सामग्रीहरू पनि रहेका छन् ।
हामी भन्न सक्तैनौं- यो फैलिंदो फुल्दो आँग्लभाषाविद्यालयले नेपाल संसारलाई कति हित गरिरहेछ, खालि हामीहरूलाई आर्यसभ्यता र आर्यसंस्कारबाट वञ्चित गराउन र पश्चिमेका छोटो कोट लाएको, पुतलीजुँघे उल्था बनाउनको मात्र तालीम दिइरहेछ । यस विषयमा भविष्यका समालोचना मात्र काम देलान् ।
तर हामी नेपालीलाई अंग्रेजीमा उल्था गर्ने कोशिशमा छौं, जस्तो यहाँका अध्यापकहरू नेपालीलाई अंग्रेजीमा उल्था गर्ने उद्योगमा रहन्छन् । हामी जबसम्म दाढीवाल अध्यापकहरूका व्याख्यानमा थियौं, तबसम्म खालि पश्चीमका यात्री, लन्डनका गल्ली र मिजाजका जिज्ञासु थियौं । अब हामी त्यस ज्ञानलाई भारतवर्षमा ल्याएर हिमालयको काखमा मातृभाषा र मातृभूमिको भविष्य-सपना देख्न लागेका छौं । यहाँ दोतर्फी व्यापार छ, एउटा अंग्रेजी हासिल गर्ने, अर्को अंग्रेजीबाट नेपाली सिंगार्ने र पोस्ने ।