छ । परमेश्वरको मौलिक सृजनात्मक स्वप्नशक्तिको सानो झल्का-जो मनुष्यमा भरिदिएको छ–कल्पना भनेको त्यही हो । परमेश्वरले बनाउन र नवीनताको प्रदर्शन गर्नको शक्ति आफ्नो ठेक्का सम्झनु हुन्न । तर प्रेमको तत्त्वले सृष्टिको स्वरूप खडा भयो। त्यही दिव्यप्रेमले मानवजातिमा कल्पना गर्न सक्ने र ईशनिर्मित पदार्थहरूबाहिरका अनेक नवीनताहरू कल्पना गर्न, खडा गर्न सक्ने सामर्थ्य दिनुभएको छ । 'अलिकति तँमा पनि सिर्जनाको चाख राखिदिन्छु, जिज्ञासा र नवीनताको प्रेम, शून्यलाई रङ्ग र रूपले सजीव बनाउने शक्ति र संभवको सीमाभित्र रहेको असृष्ट वस्तुहरूको आभ्यन्तरिक उद्घाटन गर्न सक्ने मौलिकता, तँ मेरो नक्कल गर्न पाउनेछस् र मेरा अनुकरणमा तँ पनि सानो स्रष्टा बनेर आत्मरञ्जन र आत्मप्रदर्शनका निमित्त साना-साना जगत्हरू निर्माण गर्दै विशाल जादूको सानो टुना देखाउन पाउनेछस् ।' परमेश्वरको हुकूम यस्तो भएजस्तो लाग्दछ, जब एक मुठी माटोबाट मानव-मूर्तिको रचना गरेर प्रेमसंग उसमा दिव्य वरदानहरू दिने विचार गर्नुभएथ्यो ।
५. हामी त्यस बेला सृष्टिकर्ताको नजीक पुगेकाजस्ता हुन्छौं, जब हाम्रो अन्तर्जगत्मा त्यो आँखा खुल्नेछ, जसले अनुपस्थित र अनियमितको रूप खडा गरेर रङ्ग भर्ने सक्तछ । ईश्वरसँग मनुष्यको सादृश्य जताउने कुनै चीज छ भने, ती मानव-कला र मानव-कल्पना हुन् । म आफूलाई कुनै अरू चीजमा देवतासँग तुलना गर्न सक्तिनँ‐ कुनै अरू विषयमा उनीहरूको आनन्दनजीक पुगेजस्तो मलाई लाग्दैन । कनै ठाउँमा पृथ्वीवासी हुँदा स्वर्गीय सौख्यको नजीक पुगे जस्तो लाग्दैन । त्यस कलाबाहेक जब ईशेच्छाले उद्भासित भएर झलमलाउँदै उज्यालो कल्पना चित्रमय जगत्को उद्घाटन गर्दछे र नवीन सुरपुरीको निर्माण गरेर मलाई दोस्रो नन्दन-वनको सुगन्ध शीतल कञ्जहरूमा फिराउँछे, त्यसै बेला म ढुङ्गामय पार्थिवतालाई सजिलैसँग उल्लङ्घन गर्दछु, परुष कटुताको जीवन छाडेर पंछीपङ्खे सुनौला हावामा सास फेर्न लाग्दछु, मानव-सीमाहरूको बाँध टुट्तछ, मलाई संक्चित इच्छा र साङ्ला ताकहरूको चिच्याहटबाट सुरको स्वतन्त्र फुर्सत मिल्दछ, म चिडिया बन्दछु र उड्दछु कि बहीखाते जीवनको मेचडेस्की बन्धनमा बाँधिएर बसेको हुन्छु, यथार्थताको बोधो अत्याचार ममाथि रहन्न । वास्तविक सत्यको कटु कानेखुसीबाट म अमलेख बन्दछु, घण्टाघरको समयतौली