Jump to content

Page:Laxmi nibandhasangraha.pdf/117

From Nepali Proofreaders
This page has been proofread

अजङका दरबारहरू निर्माण गरी झिलिमिली पारेर देखाइदिन्छन्‌ । यसको एक झल्कामा अविदित देशहरूका दृश्यपटहरू रोज फिल्मी तमाशा बन्दै झिल्मिलाउँदै उठ्तछन्‌ । यसका एक आह्वानमा अनन्तको रङ्गदार भण्डारले विशाल प्रदर्शनीहरू उद्घाटन गर्दछ। स्वर्गदेखि पातालसम्मका सम्पूर्ण चीजहरू यसका पहुँचबाहिर छैनन्‌ । यसको हुकूममा स्वर्गका पङ्खदार, सुकुमाराङ्गिनी, कोकिलकण्ठी, दिव्यपरिधाना, सुन्दर, लमकोशे, जादूडालका नृत्यकलाकुशला अप्सराहरू सजीव स्पर्शसामीप्यस्वरूपमा झीना, रहरलाग्दा, चपलताले रजतझुनझुने रुचिरदर्शन चरणहरू चलाउँदै, सुरभवनको कलाप्रदर्शनीमा मधुर अपार्थिव मुस्कानसँग मनुष्यका आँखाअगाडि नाच्तछन्‌ । त्यस्तै अतीतका मुर्दा जीवन नाटकीय सजीवतासँग रङ्गदार याथार्थ्य लिएर वर्तमानको रङ्गमञ्चउपर विभिन्नता प्रचुर माधुरीसँग, काल र स्थानका बाँधहरू उल्लङ्घन गरेर नजरसामु बन्दछ । जस्तो सर वाल्टर स्कटका मध्ययुगी उपन्यासहरूमा अथवा जयशङ्करप्रसादका ऐतिहासिक नाटकहरूमा यसको एक स्पर्शले नभएका देशहरू गुल्जार बन्दछन्‌ र सुनसानको रिक्तता आवाद भएर जीवनमा अनेक मधुर ध्वनिहरूले सजीव भएर र गुञ्जित भएर आउँछन्‌ । दूरताको क्षणमा विजय गरेर, विशाल भेदसागरहरूले नियुक्त भएका प्रदेशहरूसँग नङमासुको नाता जोडिदिने संसारमा केही छ भने मानवकल्पना नै हो । ध्रुवप्रदेशका तुहिनविस्तृत सफेद फैलावटहरू यसका जादूले आँखादेखि टड्कारोपना लिन्छन्‌ र अफ्रिकाका विशाल अन्धकारनिविड अरण्यहरूका अविदित अनाविष्कृत गहिराइहरू जन्तुप्रचुर वैचित्र्यमा फिल्मी ताजापनले दृष्टिगोचर बन्दछन्‌ । यदि कल्पना मनुष्यमा नहुँदो हो त अतीत र भविष्य दुई अँध्यारा पाटा बन्ने थिए, खालि दृश्य वर्तमानको सानो चोइटामा संकुचित भएर मनुष्य कुइराको काग जस्तो हुने थियो, तर म मिर्मिरे प्राचीन समयको जीवनलाई 'चित्रमयं जगत्‌' बनाएर आफ्नो नजरसामु गर्न उत्तिकै सक्तछु, जति अविदितको पर्दाले ढाकेको जीवनलाई चित्रण गर्ने सामर्थ्य ममा छ । वास्तवमा मानव-कल्पनाले तीनै काल जोड्दछ र दूरतालाई विजय गर्दछ, र सपना र सुनसानमा विलीन भएका दृश्यहरूलाई सजीव जागरण दिन्छ ।

४. कल्पना भनेको त्यस दिव्य शक्तिको मानव-आभास हो, जसको जादूगरी विशाल सिर्जनाका विभिन्नता र चमत्कारमा दृश्यमान