शासनबाट म स्वतन्त्र रहन्छु र गोडामा जञ्जीर लाग्ने कर्तव्यहरूका तानातानीबाट फुक्का रहन्छु म माटो-अन्नको दुनियाँमा रहन्न । म हावामा बस्ती बसाउँछु, आकाशखेती गर्दछु, र संसारका न्यूनताहरू पूर्ण गर्न खोज्दछु । म सानो स्वर्गमा हुन्छु र सानो ईश्वर जस्तो । मेरा सूक्ष्म प्राणीहरू मेरा प्रजा बन्दछन् र म ती रोशनीले मेरा प्रासादहरू बनाउँछु जो न समुद्र न जमीनमा पाइन्छन् ।
आखिर हेरिल्यायो भने दुनियाँमा अरू चीजद्वारा त्यस्तो उच्च कक्षाको आनन्द मिल्न सक्तैन जति कल्पनाबाट मिल्दछ । हामी आनन्दको अनुभव गछौं हाम्रा पञ्चेन्द्रियद्वारा र नाकका निमित्त सुगन्धको व्यापार र रसनाका निमित्त व्यञ्जनहरू, नजरलाई सुन्दर दृश्यहरू र फिल्मी नाटकीय कलाहरू, श्रवणेन्द्रियलाई संगीतकलाको त्यो विशाल क्षेत्र, र स्पर्शेन्द्रियलाई नरम र कोमलको दुनियाँ । यो सब कल्पनाविना बाह्य बिषयी बोक्रे आनन्द बन्छन् । कविले अम्बा खानु र वैयाकरणले अम्बा खानुमा घेरै फरक छ । 'लघु' देखि 'शेखर' सम्म मेशीन भएको मगज सूत्रबद्ध घोकन्ती स्मृति, अक्षरको चिच्याहटलाग्दो नृत्यले तिर्मिराएका आँखा, नियमबाहिर चल्न नसक्ने पखेटा कुँजिएको वैयाकरणी व्यक्तिलाई अम्बा खाँदा अम्बै हुन्छ, जस्तो वर्डस्वर्थले कसैका निमित्त भनेथे 'उसलाई परगिस नरगिस मात्र थियो, र त्यसभन्दा ज्यादा केही थिएन ।' जस्तो गन्धका चेहरा भएका पुरुषहरूलाई र व्याकरणबुद्धूलाई त्यो मिठास दिएको छैन जो कल्पनाप्रचुर पङ्खदार कविहरूले अनुभव गर्दछन् । यता अम्बा एउटा बीयाँदार पहेलो रूखमा फलेको रातो कोठी लागेको डल्लो फलविशेष (खोइ के भनूँ) गुलियो-गुलियो चीजसिवाय केही हुँदैन । उता कविको कल्पनामा अम्बा अम्बा हुँदैन, तर एक अमृतफल हुन्छ–जसमा सिर्जनाको सब माधुर्य भरिइरहेको छ । कल्पनाको कल्पद्रुममा फल्ने परिपक्व 'गलित फल' को तरङ्गको लहरमा हरेक रसद्रव भावुकको कोमल हृदयलाई भिजाउँदै-भिजाउँदै भित्र घुस्छ । उसलाई यस्तो लाग्दछ कि मानव-जीवन नै हातहाँगे, औंलापाते, पयरफेदे, नसाजाले, भावरङ्गी, सपनाचर वृक्ष जस्तो छ–जसमा अमृतस्वादी फलहरू परमेश्वरको आभासोज्ज्वल घाम, हावामा फैलिरहेछन्; रङ्गदार बादलहरू हृदयाकाशमा आउँछन् र आफ्ना चित्रविचित्र पखेटाहरूबाट अग्रशीतल शीतलवहरू झारेर बालवृन्तका शिशुहरूको पोषण बाह्य प्रकृतिबाट अनेक किसिमका