बहनुमा अविरल आनन्द छ त्यस जीवनलाई, जो बहन र कलकलिन चाहन्छ । मलाई स्रोत मन पर्दछ, छरिन मजा लाग्दैन । ढुङ्गा छन् छन त, तर तिनैउपर चल्नु मेरो हीरा र मोती भएर झल्कन्छ । त्यसैमा मेरो प्राकृतिक गान पाउँछु । रक्तसंचालन लयदार नभएर मेरो जीवनको मुटु रुग्ण रहन्छ । अक्षरले अक्षर बोलाउँछन् र शब्दले छाया र सहानुभूति खोज्दछन् । भाषा अड्दैन तर बग्दछ। हावा गह्रौं हुँदैन तर लहराउँछ । सच्चा शिल्पकलामा रेखाहरू तरल हुन्छन्, जस्तो ताजमहलमा । म बोल्नुभन्दा मीठो बोल्दछु, अर्थ रहस्यवादी बन्दछ । अक्षरका छायामा लेटेर सपना देख्तछु । पहिले मान्छेले गाए अनि लेखे, जब कुराले मुटु छुन्छ मान्छे गद्य छोड्दछ र गाउँछ । तीव्र वेदना र तीव्र आह्लाद छन्दलाई वाहन बनाउँछन् । भाषाले सुन्दरको झल्का त्यहाँ पाउँछे जहाँ सत्य सरल हुन्छ । शिला शालिग्राम हुन्छ जहाँ कल्लोलहरू खेल्दछन् । मानवप्रति चकित बनेर नौलो देशको भावना पाउँछे र गद्यको साधारणपनबाट सपनाको देशतिर विदेशिन्छे । पङ्क्तिहरू अल्पको विशालता लिन्छन् र हृदयसँग कानेखुसी गर्दछन् । दिव्य बन्धनमा बस्नेले बन्धन नाघेझैं पाठकले साना सीमाहरू पार गर्दछ । कम्पनहरू त्यहाँ भेटिन्छन् । अनि गिरिगह्वर गुञ्जेझैं अनुप्रासहरू गुञ्जाएर दिलले दिल बोलाउने अक्षर र शब्दहरू बोल्दछन्, सिपीहरू सागरलहरले थर्कन्छन् । दोहोरो 'कुहुकुह' गरेझैं विचित्र दोहोरावट पुछारमा हनाले बोल्दछ, मलाई त्यो आनन्द मिल्दछ जुन जल लाद्ने हावालाई मिल्दछ ।
जहाँ वार्णिक छन्दहरू छैनन्; त्यहाँ मात्राहरूमा संगतिको मिष्टभाषिता लयदार बनेर निक्लन्छ । वार्णिक छन्दहरू प्राचीन सिलसिलाजस्ता विचित्र बहाव लिएका देखिन्छन्, मानौँ प्रकृतिका मुटुबाट कसरी-कसरी निक्लिएका थिए। मात्रिक छन्दहरू फुका र रमाइला हुन्छन्, ज्यादा लच्किला, लस्सादार र कल्पनालाई खेलबहाड गर्ने प्रशस्त ठाउँ दिने । वार्णिक छन्दहरूमा मधुर बन्धन छ, तापसपना कडा गाम्भीर्य उनीहरू पाठ गरिने र पढिने चीज हुन् । मात्रिक छन्दचाहिं संगीतसँग सम्बन्ध राख्तछ र विभिन्नता धेरै-धेरै देखाउँदछ । उसमा अर्कै सौन्दर्य छ, यसमा अर्कै विभिन्न माधुरी । 'कालिदास' का पङ्क्तिहरू आफै बोलेर चल्छन् । 'पंत' का पङ्क्तिहरू गीत गाएर चल्दछन्; 'निराला' का बेसाँध रबर पङ्क्तिहरूमा म संगीतको चैतन्यले भावमा लय खोज्दै गीत