Jump to content

Page:Laxmi nibandhasangraha.pdf/115

From Nepali Proofreaders
This page has been proofread

गाउँछु र बाह्य नियम-शून्यताभित्र भित्री भावुक लयहरू देख्न सक्तछु, आफ्नो आफ्नो रुचि हो।

लय पाइँदै नपाइनु दोष हो, छन्द देखिंदै नदेखिनु अपराध हो । छन्द र लयविना कवि र गायक हुँदैन । भावुकको सच्चा उद्गार त्यसै छन्ददार र लयदार हुन आउँछन्‌ क्या र ! प्रकृतिकै नियमले छाउरे नाचउपर नचढी कविता हुँदैन । मीठोसँग शब्द लहराए कि– अन्धोले पनि कवि र गायकको नाममा सच्चा अधिकार राख्तछ । तालले नै बाँधिनु भन्नु र वार्णिक छन्दमा मात्र लेख्नु भन्नु एकै किसिमको कुरा हो । तर हृदयको चरोले सुनौलो रङ्ग देखे पखेटा उड्दा जता उडे पनि गाना बनेरै उड्दछन्‌ ।