सम्झन्छु जो टुक्रा होइन । अल्पद्वारा अनन्तलाई हेर्नुको आनन्द मलाई छ । एक अकेला अनेक हुँदा म झिल्किएर उठेहँला । के सब देवदेवता आखिर दीप्ति नै हैनन् र ? हामी ईश्वरले सीमित हुँदा भिन्नताको होश राख्छौ र विवाद पनि यादमा परिणत हुने ठाउँमा एकसिवाय दुई देखिन्न होला । तर मलाई सिर्जना मीठो छ; प्रेम रसिलो छ; र म आफूलाई झिल्का बनाएर छर्न चाहन्छु । म छन्द र लय टिप्छु जस्तो सुकुमारी पहाडकन्याहरू ऐंसेलु टिप्छन् ।
छन्द र लयविना म केही कुरामा ऐक्य देख्तिनँ । कविता र गानाले सारा संसारलाई एक सूत्रमा गाँस्तछ । बेछन्दी हुनु विक्षेप हो । बेलायकको बोली अन्धकारबाट उठ्छ । छन्द र लय समय र अवकाशको अनन्ततामा विश्वकविको प्रतिभा झल्कन्छ, किनकि अल्पांशी विभिन्नतामा एकले गाउँछ । म परमेश्वरबाट अलग पनि हुन चाहन्छु र बराबर मिल्न चाहन्छु नत्र खोज्नुको मोहनी र वियोगको मधुर रोदन र मिलनको तीव्र आनन्दविना जीवन खल्लो हुन्थ्यो र रुनुमा, हाँस्नुमा, च्याँठ्ठिनुमा, रिस देखाउनुमा छन्द र लय छैन म भन्न सक्तिनँ । कृष्णको मुरलीमा सबै रिसका पनि राग छन् । उनको छन्द हामीले बुझ्नुपर्छ, उनको लयमा आत्मा रहनुपर्दछ । जब परमेश्वरलाई आफूबाट अलग बनाउन चाहन्छु तब रूप र रङ्ग व्यक्त गर्दछु । उनी प्रेमले ओर्लेर आउँछन्–त्यही रूपमा जो प्रेमको हृदयले भावना गर्दछ र सपनाका देशका चित्रहरूमा सत्य रङ्गिदै ओर्लिरहेछ; र त्यस ओर्लनुमा म छन्द र लय देख्तछु ।
छन्दसँग हामीलाई किन ज्यादा प्रेम भएको होला । मेरा कारणका विवरण विवेकसंगत हुँदैनन् र मलाई बताउन असजिलो लाग्दछ । छन्दमा प्रथम रश्मिको कम्पन भएझैँ लाग्दछ । शायद जीवन हृदयबाटै विस्तार भएको हो । म परब्रह्ममा पहिले भाव भएर जन्मेंहुँला र भावको लक्षण छन्द हो । जीवन अरू बेला बिदा पाएर गुनगुनाउँछ, तर समूचा जीवन आत्म-चेतना एकत्रित भएर आउँदा हृदयमा घनीभूत भएर सररर्र पर्सिएर आउँछ, खँदिलोपना पगिलिएजस्तो लाग्दछ, जस्तो आँसुमा कडा संसारको सब कठोरता पग्लिएर आउँदछ । तरल माधुरीमा म विश्व बुझ्दछु, त्यहाँ प्रेम र सिर्जना घुम्टो खोज्दछन्, कणाकणासँग बेरिँदै, अङ्कमाल गर्दै बहन्छ र एउटाको हृदय अर्कोसँग झुनझुनाउँछ ! म नाला जस्तो स्वर्ग बर्सिंदा जन्मेहुँला–यी पहाडहरूको मुखतिर पार्ने मीठो ओरालीमा । अनि