बास्नाहरू सुरिला तारहरू झैं झुनझुनाउँछन् । चराहरू प्रार्थित प्रदेशमा स्वर्गका खबर ल्याउँछन्, सम्पूर्ण वस्तुहरू कानमा स्पर्श गर्दछन् र तरल बन्दछन् । दृश्य-जगत् गानामा परिणत हुन्छ । लहरदार आनन्दसागर पुकारको राहमा कलकल र झलमल लिएर मुखरित हुन्छ । पहाडका नीलरेखा खँदिला संगीतशाला बन्दछन्। ग्राह्य वस्तुहरू बज्दछन्, सबमा आत्मचेतको रङ्गिलो भाषा स्पष्ट बन्दै आउँछ । त्यस बेला भाषाभेदहरू व्यर्थतामा पुग्दछन् । म झल्का र शब्द पाउँछु । मलाई यस्तो लाग्दछ कि हृदयमा एक केन्द्र छ, जहाँ छुनासाथ वस्तुहरू बोल्दछन् । यो अगाध शब्दसागर अनियत, बेताल र बेलयको हुँदैन । दिव्य अभिप्रायको संगति मिहीन सम्बन्धहरूका टुनाले टुक्रा-टुक्रा जोड्दछ, जस्तो सुरहरू पहिला गवैयाको प्रतिभाका सूत्रमा अभिप्रायबद्ध भएर माला गाँसिन्छन् र अल्प भागहरूमा पनि एकसूत्री ऐक्य देखाउँछन् । मलाई बराबर त्यसैले लाग्दछ कि लेख्नेभन्दा नलेख्ने कवि बेस होलान्, किनकि हृदयमा प्राकृतिक कम्पन र स्पन्दन पाउनु र भित्रभित्रै चित्रकारिनु र शाब्दित हुनु, आफ्नै दिव्य संगीतमा संसारको समझउपरको अप्रकाशित अविरल काव्य हो किनकि भित्री शब्दहरू मानवभाषामा सबै व्यक्त हँदैनन् तर आफ्नो स्वानुभवी दृष्टिमा सदा आत्मप्रकाशिनी र आत्मभाषी, सच्चा कविहरू मानवप्रेमले लेख्ताहुन्, सिर्जनाको प्रेरणा मानवप्रेरणाबाट निस्कँदो हो । निराला अकेला ढङ्गकालाई के कलम लिनु पृथ्वीमा ओर्लनु होवैन र अक्षर बनाउनु रहस्यलाई गिजाएजस्तो लाग्दो होवैन ?
आखिरमा म वेदान्ती बन्दछु । यो फल्दो, फुल्दो, रङ्गिलो झिल्किदो प्रगतिशील संगीतको आत्मा नै सिर्जना रहेछ । ॐकारी अमृत स्पन्दनमा विश्वनिर्माण भयो भन्नेतिर मेरो विश्वास ढल्किन्छ । सूर्योदय जस्तै त भयो होला नि ! पहिले स्तब्ध सुनसान हुँदो हो निराकार र निरञ्जनको नीरव एकान्तमा । अनि 'उनी खै ? उनी खै !' भनेर अकेलाले सोधे होलान् ।प्रश्न तीव्र हुँदाहुँदै कला जन्मिन्छन् र त्यो प्रथम कामको उत्पत्ति म ठीक बुझ्न सक्तिनँ ! तर मलाई घाम जस्तो उज्यालो छ कि त्यसपछि परमेश्वर आफ्नै प्रेममा मुग्ध भए । प्रेमले लीला सिकायो र लीलाले सिर्जना गरी । सिर्जना प्रेमको पूजासामा भयो होला । यी मेरा क्षुद्र अनुमान हुन् र कत्तिले बोक्रे वेदान्ती बनाउलान् भन्ने डर छ । तर अहिले लेख्तालेख्तै यस्तो लाग्यो । आफूलाई परमेश्वरको सानो टुक्रा