श्रीगणेशाय नमः
आरम्भ गर्दा अन्त्यको बारेमा त्रास रहनु स्वाभाविक भएको हुनाले हामी हिन्दूहरू गणेशजीको शुभ नाममा हृदयलाई आधार दिन्छौं । सिद्धि र बुद्धि दुवैका मालिक भएका हाम्रा सूँडवाल भुँडे देवता कार्यको आरम्भमा पनि अधिष्ठाता बन्नुहुन्छ । जुनसुकै मनोवैज्ञानिक दृष्टिले हेर्दा देवताको आधार लिन खोज्ने स्वाभाविक प्रवृत्ति मनुष्यको अपूर्णता र त्यसको परिणामरूप आत्मविश्वासको कमीमा नै उत्पन्न हुन्छ । जवानीको जोश र सफलताको स्वयंविकासी हौसला पाउने भाग्यवान् सफल साहित्यिकले गणेशजीको त्यत्तिको कदर नगरोस् तापनि मेरो हिन्दूहृदयमा त अनेक न्यूनता र अपूर्णताका चैतन्यको त्रास चिसो भएर पस्तछ र म प्रकृतिवश या त सरस्वतीको चिह्न या त श्रीगणेशाय नमःको रुद्रीचण्डीक्रमको स्मरण नगरी सक्तिनँ । शायद बाहुनको छोरो भएको हुनाले हो कि ?
आजकाल नाटकमा सूत्रधार र नटीको नाक काटिएको युगमा, पचासहाते नालिश छोट्याउने ऐनसुधारको अवस्थामा लर्ड म्याकलेका प्रसिद्ध प्रबन्धहरूलाई 'गन्थन प्रस्तावले चिच्याटलाग्दा' भन्ने समालोचना हुने बीसौं शताब्दीमा, जब चिठीमा 'उप्रान्त' काटिएर 'प्रिय महाशय' लेखिन्छ यस्तो 'श्रीगणेशाय नम:'को आरम्भ सच्चा चश्माबाज आधुनिक पाठकलाई त के मन पर्ला र ! तर म के लेख्न लागें, कुन विषयमा कसरी यी कुराको बारेमा केही विवरण यहाँ दिन अनुचित होओइन कि जस्तो लागेर अगाडि बढ्दछु ।
सच्चा पाठकले पहिले चाहन्छ-केही लेखकसँगको परिचय यसकारण, मलाई एउटा हरियो बाला हाल्दो चियाबारी नामको हावाको लहरमा सरसराउँदो खेतको फैलावटउपर मसलाको बाङ्गोटिङ्गो अग्लो वृक्षनेर त्रिचन्द्र कलेजको पूर्वपट्टिको रातो झ्यालनेर अनेक लेखकहरूका