Jump to content

Page:Laxmi nibandhasangraha.pdf/106

From Nepali Proofreaders
This page has been proofread

टाढा कहाँ हुन्छ र ? च्याङ्ग्रेले बोके पनि मेरा खुट्टा गल्दैनन्‌, न त थाकेका पयरमा धनेश तेल लगाउनको जरूरतै पर्यो । पादचारीहरूको अगाडि कमसे कम मेरो फूर्ति र रवाफ त रह्यो कि !' भन्ने यस्तै सन्तोष तरङ्गहरूले आनन्दित भएका हाम्रा कविराजजी जुँघामा ताउ लगाएर फेरि एक हात कम्मरमा अड्याएर च्याङ्ग्रेझोक्रूवा मिजासको जन्तुलाई पयरको ऐंडी र लगामको झटारोले अगाडि बढाउँथे– लिखे टुकुर टुक्रमा– र यो मीठो चैतन्य उनमाथि गद्‌गदाएर चढ्थ्यो कि हजारौं गोडाहरू उचालिँदै पछारिँदै ठक्कर-ठेस खाँदै वाहनबिना बागबजारको सडकमा रंगमगिइरहेछन्‌ ।

जुन दिनको हामी उपाख्यान गरिरहेछौं उस दिन जुँघामा ताउ लगाएर यस्तै रसिला तरङ्गहरू मनमा भरिएका हाम्रा भिषगराज बिजुलीघरको नजीकै सालिकको सामुन्ने हरियो दोसल्ला ओढेर आइपुग्नुभएको रहेछ । दुर्भाग्यवश ठीक त्यही ठाउँमा एउटा काले धम्मरधुस घोबीले दुईतर्फ विशाल पोका चढाएर गधा धपाउँदै ल्याएको रहेछ । त्यस बिचरा ज्यादा लादिएको गधाले आफूमाथिको अत्याचारउपर स्वजातिसँग उजूर गर्ने मन लागेको बेलामा न झुसमुसे दाढीवाल कविराजलाई देख्यो, न उहाँको गधघामुखे वाहनलाई, हामी निश्चित तवरले भन्न सक्तैनौं । दुईतर्फबाट यस कुराको फैसला हन सक्तैन । तर त्यस गधाले यसरी त्यस दिन गर्जन निकाल्यो कि (कविराज बाजेको भनाइमा) मानो पहरा थर्काउने यालदार सिंह नै हो; र यो तीव्र उजरातको गर्दभगुहारमा कहिल्यै नझस्किने, आफैले सघैं छेउ लागेर बागबजारको छहारी खोजेर हिंड्ने, यस्तो शान्त जन्तुलाई अकस्मात्‌ वनको बाघ आएझैं डर पसेर सातो-पुत्लो उडेको बेलामा कहिले उत्तरतिर, कहिले दक्षिणतिर, कहिले स्ट्याच्यूतिर, कहिले बिजुली-अड्डातिर सहारा खोज्न रंगमगिएझैं आतसमा हिंड्न थालेछ । ठूलो घोडा भएको भए साँच्चिकै टिपिहाल्ने र ज्यानको आइँ न काइँको सोझो खतरा हुने– तर भाग्यवश सानो खच्चर हुनाले यस्तै गरी उतर्सिइरहेको थियो रे– तैपनि त्यस बेला घण्टाघरले चार हान्ने बेला भएछ र त्यो पनि झन्‌ रन्थनिएछ– अनि सबउपर त्यसै बेला (कत्रो दुर्भाग्य !) घण्टाघरतिरबाट एउटा कुन्नि कति सय उनसठ्ठी हो कि उनन्तीस हो नम्बरको अजङको मोटर हर्न दिँदै भ्वाँक्‌ ! भ्वाँक्‌ !! भ्याँक्‌ !" गरेर ड्राइभरले जाँड खाएजस्तो दौडमा