Jump to content

Page:Laxmi nibandhasangraha.pdf/107

From Nepali Proofreaders
This page has been proofread

आइपुगेछ । अब बिचरा च्याङ्ग्रे खच्चरका होशहवास उडेछन्‌ र कविराजजीलाई मुश्किल पो परेछ । न कविराजजीकै पहिले होश बतासिएका हुन्‌ हामी भन्न सक्तैनौं । तर ज्यानको खतरा स्पष्ट देखेर 'सर्वनाशे समुत्पन्ने अर्द्ध त्यजति पण्डित: भन्ने शास्त्रवाक्यअनुसार उहाँ त्यस अजङको जनावरको पीठबाट सडकमा एकदम नर्भस भएर कद्नुभएछ । हुन त धेरै ठूलो हाम्फाली परेन होलाजस्तो पाठकलाई लाग्ला । हुन पनि दुई हात र अढाईसम्मको हुँदो हो । तर मान्छेको घनघोर भीड र हँस्सी लागिहालेछ; मोटर आफ्नो बाटो चलिहालेछ र बिजुलीघरका सारा कारिन्दा कानमा कलम लिएर हेर्न निक्लिएछन्‌ । चोटपटकको बारेमा चश्मा चकनाचूर ! आँखा ज्यौंका त्यौं । तर बायाँ हातको हड्डी खुस्किएछ ! र आज मकहाँ काम्रो बाँधेर डाक्टर द्रव्यरञ्जन सेनको प्रेस्क्रिप्शन लिएर 'कस्तो ओखती हो ! रसादि हो कि काष्ठादि ?' भनी सोध्न आउनुहुँदा मेरो कलेजै रहेन ! अनि मैले उहाँलाई सम्झाएँ कि घोडामा ठूलो र तेजिलो नै मजाको हुन्छ र बाउन्ने खच्चरहरू च्याङ्ग्राको सट्टा कालिकास्थानमा चढाइदिनु धेरै बेस हुँदो हो ! उहाँले मान्नुभएन र मैले यति थपें कि 'यो च्याङ्ग्रे खच्चर संसारको सबैभन्दा अलच्छिना उल्लू रहेछ !' भनी जन गिल्पिनको किस्सा त्यहीं सुनाइदिएँ र उहाँले हाँसेर भन्नुभयो कि घोडाबाट खतरा खाने उहाँ एक जना मात्र हुनुहुँदौ रहेनछ । तर फेरि निको भएपछि त्यही च्याङ्ग्रे खच्चर चढ्न लाग्नुभएछ; र म भन्न सक्तिनँ यस कुराको कारण न प्रेम हो, न बहादुरी हो, न कातरपन ! तर अझसम्म उहाँ बागबजारमा कहिले-कहिले भेट्टिदै हुनुहुन्छ– च्याङ्ग्रे खच्चरमा झुसमुसे कविराज ।