धोबीखोलामा टिपेर मुन्ट्याउन कति बेर ? चौपायामा अरू किसिमका जन्तुहरू उनलाई सुभदै सुझेनन् र बल हाँक भएका घोडाहरूको कथा सम्झँदै उनको चिकित्सक रोगतरासी आत्मा तर्सिहाल्दथ्यो । आखिरमा धेरै बेर जुँघा बटारेर गौड गर्दा ज्ञानकोष धीमा तबरसँग खुल्यो कि उनको पुड्के छोटखुट्टे मूर्तिलाई सकभर सानो किसिमको वाहन सुहाउँथ्यो । के गणेशजी मूसामा चढ्दैनथे र ? तब एक दिन उनले खोज्दा-खोज्दा वामन बनजरको घरमा बाँधेको च्याङ्ग्रे खच्चर देखेर उनको चित्तले सन्तोषको घुट्को पियो । पैसा पनि थोरै पर्ने र चढ्न पनि भर्याङ लाउन नपर्ने, न पर्खाल-पेटीबाट उक्लनुपर्ने । तब टिप्नेका बारेमा त्यसको बाबुको के मजाज ? उनी सानो भए पनि च्यवनप्रास खाएर निक्कै गठिला थिए । तब त्यतिको च्याखुरेले टिप्न खोजे दुई हात र पयरले च्यापेर पनि अथवा ह्याकुलाले मिचेर पनि त्यसलाई अडाउन सक्तथे । यस किसिमको खरीदमा उनलाई बिलकुल खतराको सम्भावना देखिएन र पैसा सोद्धा बिचरो गरीब बामन बनजरले दमको औषधि गरेको बापत सित्तैंमा टक्र्याउँछ भन्ने निवेदन गर्यो । अनि त्यस दिनदेखि त्यही च्याङ्ग्रे खच्चरमा विराजमान भएका हाम्रा कविराजजी सबैभन्दा एक कुरामा ज्यादा सुबिस्ता देख्तथे कि सडकमा हुँदा ढोग्ने र टाउको थाप्ने पहिचानहरूलाई आशीर्वाद दिन धेरै निहुरनु या हात लम्याउनको जरूरत थिएन, अरू लम्बा-चौडा अरबी सिलिङ भए त्यो पनि त मुश्किलकै कुरो थियो ।
'बाजे ! के बोको चढ्नुभएको यस्तो !' भन्ने टीकाकारहरूलाई उनी मुखभरिको जवाफ दिन्थे । 'बोको र घोडा त चिन्नुहुन्न तपाईं, खै ! दूध-पेडामा झुक्किने मान्छेका जस्ता कुरा नगर्नोस् न ए ? कि खसीलाई गधा बनाउने ठगहरूको किस्सा दोहर्याउन आँट्नुभयो ? कहाँ भन्नुहुन्छ ! सानो भए पनि निक्कै पो छ त यो पनि ! खुर-खुर खुर-खुर गर्छ ! खालि सिप्कनो चाहिन्छ ।'
शाङ्कर साँढेमा चढेर कसले निन्दा गर्न सक्यो ? गणेशजी मूसामा चढेर साना भएनन् । सरस्वती हाँसमा चढेर पनि संसारको पूजा पाउँदैछिन् भने हाम्रा कविराज बाजेलाई च्याङ्ग्रे खच्चरमा चढ्दैमा नचिन्ने र ढोग्न नआउने को होला ? फेरि 'पहाड चढ्दैमा मान्छे ठूलो हुन्न । नत्र लेकका मान्छेहरू सर्वोच्च सम्झिनुपर्ने हो । अनि वाहनको काम बोक्नुभन्दा