हाम्रो हाँसो परिवर्तनको चैतन्यसँग सम्बन्ध राख्तोरहेछ । मनुष्य अक्सर कट्टर हुँदारहेछन् । उनीहरू परिवर्तन चाहँदैनन् । परिवर्तनमा हामीलाई त्रास छ । 'त्यसरी पनि हुन्छ !' भनेझैं मनुष्य अदल-बदलको सूचनालाई हरहमेशा हँस्सी उडाइरहेछ । साधुलाई नास्तिकको बहसले हाँसो उठ्तछ, त्यस्तै नास्तिकलाई साधुहरूको सिद्धान्तले । यसबाट हामी अनुमान गर्न सक्तछौं कि प्रतिष्ठित आदतहरू ज्यादा बलवान् हुनाले तिनका विरोध सत्य नै भए पनि हँस्सी उडाउँदा रहेछन् र मनुष्यको यो जातिको सब प्रतिष्ठित ध्येय या चलनसँग ठक्कर खाने विषयहरू उपहासतिर जाँदारहेछन् ।
तब के हास्य रस प्रकृतिको विरोध हो ? होइन । आदतसँग विरोध होला, तर हामी भन्न सक्तैनौं कि हाम्रा आदत र आधुनिकताहरूमा मिथ्या छैन । जतिसुकै हामी हाँसेर उठे पनि तिनीहरूसँग विरोध राख्ने विषयहरू हाम्रा प्रकतिका मार्मिक तत्त्वहरूको नजीक आउन सक्तछन् । तर मार्मिक तत्त्वहरूभन्दा पनि तिनको व्यक्तिगत चैतन्य नै जीवनमा ज्यादा काम गर्दछ । यस्तो चैतन्यसँग ठक्कर खाने विषयहरू सहज उपहासका विषय देखिन्छन् । सौन्दर्यको समझ पनि विकासशील छ, तर आदती भावसँगको विरोध नै कुतकुतीको कारण हो । यसकारण हामी हाँस्तैमा परिवर्तनलाई मिथ्या बनाउन सक्तैनौं; यद्यपि त्यहाँ मिथ्याको भान होस् । तब हास्यरसमा पनि सत्यको उद्घाटन हुन सक्तोरहेछ । यदि हामी मनुष्यलाई त्यहाँ लगेर हँसाऊँ, जहाँ उसले सच्चा सौन्दर्य र प्रकृतिको होश पाओस्, त्यस ठाउँमा मनुष्य आफ्नै न्यूनता र मूर्ख्याइँहरूउपर पनि हाँस्न सक्तछ । त्यहाँ सुधारको अवकाश छ। जर्ज बर्नाडका लेखहरू हास्यरसलाई त्यहीं लैजान्छन् र धेरै जना आफ्ना आदती समझसँगका विरोधले मात्र हाँस्तछन् तथा खालि हँस्सी मात्र सम्झेर त्यत्तिमा छाडिदिन्छन् । अरूहरू आफ्नो शैशवी न्यूनता र गधेपच्चीसीका मूर्ख्याइँहरू देखेर हाँस्तछन् र तिनबाट झल्केको शिक्षा र परिवर्तनको होश पनि पाउँदछन् । तर बर्नाड शा विरोधहरूको व्यापार गर्दछन्, आत्म-विरोध, आदती विरोध, कक्षाविरोध इत्यादि । तिनमा दृष्टिकोणको विभिन्नता र परदेशीपनबाट आउन सक्ने हास्यरस निकालेर साहित्यिक संसारलाई चकाचौंध बनाउँछन् । तैपनि उनी आफूलाई सामाजिक दार्शनिक भन्दछन् र सत्यको उद्घाटक भन्ने सम्झन्छन् ।