Jump to content

Page:Laxmi nibandhasangraha.pdf/102

From Nepali Proofreaders
This page has been proofread

तब हास्यरस सत्यनिर्देशक हुँदा-हुँदै आदतका विरोधमा धेरैजसो निर्भर हुँदोरहेछ । कम से कम औपदेशिक साहित्यिक क्षेत्रमा मानिस मिथ्याउपर पनि हाँस्तछ, सत्यउपर पनि; तर आफ्ना आदती ध्येय, कक्षा र प्रकृतिसँगको विरोधको होशले । हास्य-रसप्रधान रचनाका लेखकको लक्ष्य मानिसलाई आफ्ना आधुनिक न्यूनताहरूउपर हँसाएर मनोरञ्जन गराउनु हो ।

हाम्रा समस्याहरू दृष्टिकोणको ढङ्गमा निर्भर रहन्छन्‌ । हामी मनुष्यलाई बाउन्ने, अति सुकुमार, नराम्रो, धनी कूँजो, यान्त्रिक, मूर्ख व्यर्थजीवी देख्न पनि सक्तछौँ र उसैलाई अनन्त शक्ति भएको संसारविजेता चमत्कारपूर्ण जीव पनि देख्न सक्तछौं । मान्छे मरेको र रोएको देखेर हाँस्ने दार्शनिक पनि छन्‌, त्यसैमा रोइरहने पनि छन्‌ । उही दृश्यलाई आँखाको कुनाबाट हेरे एक किसिमको छ, दुइटै नानी खिचेर हेरे अर्को किसिमको र सोझो दृष्टिले हेरे अर्कै ढङ्गको छ । चार्ली चेपलिन त ढुङ्गो पनि हाँसिरहेको देख्ताहुन्, मानौं पाषाण पनि समाजको उडिल्लो- बुडिल्लोपनालाई हँस्सी उडाइरहेछ । विदूषकको दृष्टिकोणमा पनि सत्यको एक पाटा हुन्छ र हामी त्यसलाई हेर्न चाहन्छौं । एक कोणको सत्यपूर्ण स्वरूप हँदैन; यद्यपि साधुहरूको सिद्धान्तसँग ठक्कर नखाओस्‌ । हामी विभिन्न दिशाबाट उही चीज हेर्न चाहन्छौ र एक अनौठो अनेकताको अध्ययन गर्न चाहन्छौं । पूर्वस्थित विश्वास या विरोधको नजरले विश्वभ्रमण गरे पनि मनुष्यले सत्यको अनुहार देख्न सक्तैन । जो देखेथ्यो उसैको अन्धो ढिपीमा लाग्दछ । तर कट्टर छँदाछँदै नास्तिकको दृष्टिकोणले समेत संसार हेर्न सक्ने साधुमा हृदयको विस्तृत उदारता हुन्छ । एकध्येयीसमेत व्यक्तिगत आफ्नो आदती दृष्टिकोणको त्यागदेखि रिसाउँछ र सत्यले कट्टरलाई सधैं गिज्याइरहेछ । अनन्तको राज्यमा अनन्त दृष्टिकोण छन्‌; नत्र साहित्यिक क्षेत्रमा असङ्ख्य लेखकहरू शैली र सन्देश पाउने थिएनन्‌ । सार्वजनीन सहानुभूतिको सर्वोत्तम चौडाइको साथमा हास्यरसको सर्वोत्तम प्रधानता देखाउने प्रतिभा शेक्सपियर हुन आए ।

दृष्टिकोणको विभिन्नताभन्दा दुई किसिमको अर्थ बुझिन्छ । पहिलो–एक ध्येय लिएका मानिसले आफ्नो सत्यलाई अनन्त कोणहरूबाट निरीक्षण गर्दै भिन्न-भिन्न रूपमा देख्नु र आफ्ना सत्यसँग अरूहरूको राय र भेदहरूको तुलना गर्नु, अर्को हन्छ– सत्यलाई एक नसम्भझेर अनेक ठानेर अनन्तको प्रदर्शनीमा अनन्त दृष्टिकोण लिँदै अनन्त विभिन्नता