विरोध खाने कुराहरू अनुभव गर्दछौं र अनौठोपनाले के के कुतकुती लागेजस्तो पाउँछौं । यसबाट विदित हुन्छ कि हाम्रो जीवन केही मार्मिक तत्त्वहरूमा निर्भर छ, सौन्दर्यको समझ ती मार्मिक तत्त्वहरूसँग सम्बन्ध राख्तछ । हामी त्यसलाई सुन्दर देख्तछौं जो ती तत्त्वहरूको पोषण गरेर जीवनको समर्थक हुन्छ । अरू कुरा हामीलाई अनौठोपना जस्तो लाग्दछ– जीवनको मार्मिक तत्त्वसँग केही ठक्कर खाएजस्तो या परिवर्तनसूचक । हामी आदत परेका तवरहरूमा जीवनका संरक्षक तत्त्व देख्दछौं अनि तिनबाट भिन्नता लिने कुराहरूमा केही खडवड लाग्दछ । अनौठोपन हामीलाई त्यहाँ अनुभव हुन्छ, जहाँ हाम्रो आदती भाव या मोलतोलसँग सम्बन्ध राख्ने मार्मिक तत्त्वहरूको क्रियासँग गाँसिएको नैसर्गिक सौन्दर्यको समझमा केही खडबड थाहा हुन्छ र हामी त्यो अनौठोपनको कुतकुतीले हाँसेर उठ्तछौं । परिवर्तन नै हास्यको नजीक आउँछ, जस्तो फेशनको परिवर्तनमा हामीलाई हाँसो उठ्तछ । बानी परेका मोलतोलको तराजुमा उपस्थित विषयहरूसँग तुलना गरे यस्तो कुराले भेदको चैतन्य दिलाएर अनौठोपनको अनुभव गराउँछ र ती कुराको प्राकृत रेखाबाट भएको दूरता या परिवर्तनको प्रमाणमुताबिक कुतकुती लागेर हाँसो उठ्तछ ! नेपालीको पोशाक नेपालीअगाडि हाँसो उठ्ने चीज हुँदैन, तर लण्डनमा अंग्रेजहरूलाई अनौठो लाग्दछ र उनीहरू हाँस्तछन् । यहाँ आदती कक्षासँग विरोध पर्नगयो । कुनै मनुष्यलै आफुले टेकेको हाँगो बञ्चरोले काट्न लागेको देखे हामी पहिले डराउदैनौं, हाँस्तछौ ! 'कस्तो मूर्ख !' यही आश्चर्यको उद्गार त्यसको अनौठोउपर निस्कन्छ, हाम्रो स्वाभाविक विवेकसँगको विरोध देख्तछौं; त्यसमा साधारण समकक्षको कमी । त्यस्तै डार्विनमहाशयका पुरुखा पुच्छर भएका बाँदर थिए भन्दा हामीलाई हाँसो उठ्छ र किन आफ्नो प्रकृतिसँग त्यस अवस्थाको तुलना गरेर अनौठा भूलहरूले भुलाउनुभन्दा हामीलाई ज्यादा हँसाउँछन् । यहाँ विकासपूर्ण प्रकृतिले आफ्नो शैशवको न्यूनताउपर आफैंमा हँस्सी उडाइरहिछन् । त्यस्तै पछि मानिसको मुखले बोल्दैन र खालि हाउभाउले मात्र भाषण हुन्छ भन्ने कसैले भन्यो भने हामीलाई अनौठो लागेर मुस्काउन मन लाग्दछ । यसकारण हाँसो धेरै मात्रामा आदतसँगको विरोध हो । हामी त्यहाँ हाँस्तछौं र त्यस्तै सबै मनुष्यको प्राकृत कक्षाबाट विरोध लिने चीज या चालले हामीलाई हाँसो उठाउँछ ।
Page:Laxmi nibandhasangraha.pdf/100
Appearance