This page has been proofread
(२४)
हुँदै नहोस् क्यै गुण, शील, खूपी
स्वरूपमा होस् बहुतै कुरूपी ।
तथाऽपि मानिन्छ धनी मनुष्य
जताततै यो बुझनू अवश्य ॥
(२५)
धनै भए मात्र रहन्छ मान
धनै भए हुन्न फिका जमान ।
धनै भए बन्दछ बुद्धिमान
धनै भए मिल्छ ठुलो कमान ॥
(२६)
जसो गरी हुन्छ धन-प्रवाह
सदा बहाई बन 'वाह वाह' ।
हुनेछ धारो धनको पियारो
सुक्यो भने लोक सबै अँध्यारो ॥
(२७)
धनै छ यागाऽऽदिक-धर्म-हेतु
धनै छ भाग्योदधिमाथि सेतु !
धनै भए मान्दछ राहु केतु
धनै छ सर्वोत्तम भाग्य-केतु ॥