This page has been proofread
(२०)
विनोद, चातुर्य, विचार, शक्ति,
महत्त्व, सौजन्य, विवेक, भक्ति ।
गुणज्ञता, भोग, विलास, चैन
असाध्य केही धनबाट छैन ॥
(२१)
लिएर शास्त्रीय ठुला किताप
बढाउने हो किन दुःख, ताप ।
तवर्गका अन्तिम वर्ण खालि
पढी दुईटा वन भाग्यशाली ॥
(२२)
सुरूपधारी छ, गुणी, युवा छ
प्रवृत्ति लोकोत्तर कर्ममा छ ।
परन्तु पैसा नभए अभागी
गनिन्छ छोटो मतिहीन दागी ॥
(२३)
विचार, विद्या, विनयाऽऽदि जानी
हुँदैन कोही पनि भाग्यमानी ।
यथार्थमा भाग्य भनेर नित्य
पुकारिने वस्तु छ एक वित्त ॥