This page has been proofread
(४)
यथार्थमा हेर मनुष्यलाई
मनुष्यताको सँगमा मिलाई ।
चढाउने उन्नति-शैल-माथि
धनै छ यौटा स्पृहणीय साथी ।
(५)
धनै भए लभ्य छ गाँस, वास
धनै भए मात्र रहन्छ सास ।
धनै छ सर्वोत्तम सार जे छ
सबै धनैमा लटकी-रहेछ |
(६)
कसेर चारैतिरबाट ल्याई
नचाउने नित्य मनुष्यलाई ।
रहेछ एकै धन-नाम खास
महेशको मोहन मन्त्र-पाश ॥
(७)
अशेष यो विश्वविषे विशेष
लगाइ आँखाकन लेश लेश ।
विचार आफैँ बुझ हाव-भाव
रहेछ कस्तो धनको प्रभाव ?