This page has been proofread
(८)
यसो गरे देखि यती हुनेछ
यती भए दुर्लभ फेरि के छ ?
भनेर खाली धनका निमित्त
समस्त संसार छ यो प्रवृत्त ॥
(९)
बुझ्यौ जहाँसम्म रहन्छ सास
सदा उहाँसम्म धनाऽऽभिलाष ।
अखण्डता-साथ बनी-रहन्छ
पुग्यो मलाई कुनचाहिँ भन्छ ? ॥
(१०)
पुगी-सक्यो प्राण सबै गलामा
परीरहेको छ अघोर धामा ।
तथापि पाए धनको प्रसङ्ग
पुलुक्क हेरीकन हुन्छ दङ्ग ॥
(११)
लिएर साधारण भिक्षुलाई
ठुला ठुला भूपतिसम्मलाई ।
विशाल आशामय पाश हाली
घिसारने मुख्य धनै छ खालि ॥