Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/88

From Nepali Proofreaders
This page has been proofread
धन-महिमा

(१)
मनुष्यको जीवन-वृक्षलाई
अमन्द आनन्द-सुधा दिलाई ।
बडो उज्यालो रसिलो सदैव
गराउन मुख्य धनै छ दैव ॥

(२)
विपन्न, सम्पन्न, अशक्त, शक्त,
अयोग्य योग्याऽऽदिक यो विभक्त ।
प्रपञ्च, जो हो उसको प्रधान
निदान खाली धनलाई जान ।

(३)
सभा, कला-कौशल, खेति-पाती
लगान वाणिज्य अनेक भाँति ।
सुधार, शिक्षाऽऽदि सबै प्रपञ्च,
धनै भए मात्र बनी-रहन्छ ॥