This page has been proofread
नैतिक-दृष्टान्त
(१)
बडाले जो गर्यो काम हुन्छ त्यो सर्व-सम्मत ।
छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ॥
(२)
गरदैन ठुलो व्यक्ति मर्यादा-स्थिति-लङ्घन ।
बसेको छ महासिन्धु सीमा-बद्ध बनीकन ॥
(३)
दबिन्छ गुणिको दोष गुणको राशिमा परी ।
रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी ॥
(४)
कसैको लोकमा छैन एकैनास समुन्नति ।
अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति ॥
(५)
छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ ।
उर्लँदो खहरे हेर कत्तिको गड्गडाउँछ ॥
(६)
ज्यादा सोझो हुनूभन्दा टेढिनु छ फलाऽऽधिक ।
गरिँदैन कुनै सोझो ग्रहको पूजनाऽऽदिक ॥