This page has not been proofread
(२८)
निद्रालाई अलि छिन अघी ठान्दथेँ शान्तिकुञ्ज
ऐले पल्ट्यो समझ, अब त्यै देख्दछु दुःख-पुञ्ज ।
डुब्नाले नै सकल दुनियाँ नीँदको मूढतामा
नाच्छन् हाँस्छन् निशिचरहरु लाम लागेर लामा ॥
(२९)
जागा होस् ता सकल जनता, चुप के लाग्न सक्थ्यो ?
आगो फुक्थ्यो पथ कुपथमा बत्ति बालेर ढुक्थ्यो ।
हुन्थ्यो चारैतिर अलिकति रङ्ग अर्कै उज्यालो
के निस्कन्थ्यो यसरि ननिको दानवी नृत्य कालो ??
(३०)
यो संसारी नियम सुखको जाग्रतैमा रहन्छ
निद्रामा त्यो स्मरण नहुँदा भ्रान्तिमा नै बहन्छ ।
बाली भुल्का बिहग[1] बिचरो यै कुराको चिराक
यामैपिच्छे उठिकन सदा भन्छ त्यो जागजाग ॥
(३१)
निद्रा हाम्रो अधम रिपु हो, भूत बेताल डाक्छ
निद्राले नै सब हृदयको चेतना-शक्ति ढाक्छ ।
निद्रामा नै घर ढुकुटिमा चोर चालाक घुस्छन्
निद्रामा नै उडुस उपियाँ रक्त निःशङ्क चुस्छन् ॥
- ↑ लाटोकोसेरो