This page has not been proofread
(३२)
भन्छन पैले नियति गतिले नीँदमा विष्णु पर्दा
ब्रह्मालाई दनुज दुइले घातको यत्न गर्दा ।
ब्रह्माजीले स्मृति-वचनले नीँद त्यो दूर सारे
ब्यूँझे विष्णु, भ्रम पर हट्यो, ती दुवै दैत्य मारे ॥
(३३)
त्यो बेलाको अगम हरिको योग-निद्रा त त्यस्तो
होला हामी अबुझ नरको मोहको नीँद कस्तो ?
निद्राले नै सब तलतलै लोक यो भासिँदो छ
सत्ता-पत्ता सकल सुखको शान्तिको नासिँदो छ ॥
(३४)
निद्राभन्दा शत-शतगुना बेस उन्निद्रता छ
देखेँ यस्मा सहज हँसिलो भावको भद्रता छ ।
निद्रा भागोस् परपर, बनोस् विश्व उन्निद्र सारा
उन्निद्रा भै थरिथरि छरोस् लेखनी लेख-धारा ॥