This page has not been proofread
वयोवृद्ध कोइलीको बिलौना
(१)
उज्यालो त्यै अग्लो हिमचुलि छ त्यै नील गगन
तिनै खोला नाला, रुखहरु तिनै त्यै छ पवन ।
म त्यै छू, त्यै प्यारो खग जुनि छ, त्यै चञ्चुपुट यो
कठै ! त्यो आनन्दी मधुर वय मेरो सब गयो ॥
(२)
जवानीको चढ्दो अति चहकिलो रङ्ग रसमा
म देख्थेँ नाचेको सकल वनमा स्वर्ग-सुषमा ।
गलामा घन्केको कहुँ कुहुँ, कुहुँ-कौतुक थियो
कठै ! त्यो आनन्दी मधुर वय मेरो सब गयो ॥
(३)
जुनेली वासन्ती सरस निशिको अन्त्य पहर
जसै देख्थेँ लाग्थ्यो हृदयबिच अत्यन्त रहर ।
चुचो खोल्थेँ बोल्थेँ, मनमन सबै गद्गद् थियो
कठै ! त्यो आनन्दी मधुर वय मेरो सब गयो ॥