Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/189

From Nepali Proofreaders
This page has not been proofread
प्रवासी पुत्रको मार्मिक चिट्ठी

(१)
थुङ्गाबाट छुटी अचानक कुनै चर्को हुरीमा परी
सानू लाल गुलाफका कुसुमको पत्ती उडे झैँ गरी ।
हुच्चीमा अरुको फसी बहकिँदै आएर ज्यादा पर
भोग्दै छु परदेशमा म जननी ! तड्पेर लाखौं पिर ॥

(२)
हुर्दुङ्गेपनमा परेर अघि नै खल्ती सबै रित्तियो
आँशूका भरमा कठै ! जठरको ज्वाला ननिभ्ने भयो ।
थाकेँ योग्य अनेक कामहरुको खोजी तलासी गरी
लाचारी-वश आखिरी शरण भो निर्लज्ज कुल्लीगिरी ॥

(३)
यै कुल्लीगिरीमा पनी हरघडी बाधा अनेकौं थरी
मैजस्ता हतभाग्य अन्धहरुका धक्का र धुक्की परी ।
यस्तो दुर्गतिमा परेर जननी ! शुक्ता पनी जीवन
तिम्रै पाद-सरोजका स्मरणले थामीरहेछू मन ॥