This page has not been proofread
(४)
यस्तो हालत देहको छ, तर यो मेरो मयालू मन
लेख्ने लालच गर्छ बन्धुजनको सम्झी प्रवासीपन ।
यो मायामय पाशको वश परी जो लेखुँला त्यो कुरा
राखे है प्रिय बन्धुवर्ग ! मुटुमा सारांश सम्झी पुरा ॥
(५)
यी लम्बा हिमशैलका चहकिला अग्ला हजारौँ चुली
यी छाँगा, छहरा यिनै नद, नदी मुस्कानको भाव ली ।
तिम्रै पूर्वजका कथामय मिठा गाथा सुसेल्छन् सब
स्वप्नामा पनि बन्धुवर्ग ! नभुले नेपालको गौरव ॥