देखिएको थियो । व्यक्तित्व नै संसारको सम्राट् हो, यसको अभाव शून्यता हो । त्यस शून्यतामा जीवनको लवलेश पाइन्न । मनुष्य जब एक चीज हुँ भन्दछ, र अरू चीजसँग लड्न थाल्दछ, ऊ केही न केही बन्न जान्दछ । जब ऊ सब किसिमको चीजमा एकाकार रहन्छ या सब मतको समर्थक रहन्छ, तबसम्म ऊ हावाको निर्जीव परालको रूपमा रहन्छ । महत्वको मात्राको प्रधानता चढ्नु नै विकासको पहिलो सिँढी हो । आज्ञाकारिताको विष्णुसहस्रनाम सबैले लेखेका छन् । तर केवल झुकाई र निहुराइ मात्र विकास हो भन्नु सफेद गलत हो । चम्पाको निमित्त, प्रकृतिका नियमले नै जीवनको सर्वस्वभाविक सब क्रिया र गुणबाट वञ्चित भएर, स्त्रीत्वको निमिट्यान्नमा घरबुहारीको निन्याउरो मैलो आदर्श हुनु सुहाउने कुरो जरुर थिएन । चम्पा मानिस बन्न खोज्दथिन् तर चम्पा डराउँदथिन्, उनमा संस्कारहरू भयङ्कर थिए । पूर्वजन्मका भीषण कीटाणुहरू, पुस्तान पुस्ताका विषाक्त वाष्पहरू क्रियाशील थिए । उनी अझै परिस्थितिकी दासी थिइन् । तर प्रकृतिले उनलाई वर्ड्सवर्थको लुसीलाई झैँ क्रमशः व्यक्तित्व हासिल गर्न सिकाउने आवश्यकीय जीव शिक्षाको पाठशालामा एकदम अगाडि बढाउने चेष्टा गरिरहेकी थिइन् ।
तब यस्तैमा एक दिन उनको सासूसँग घनघोर झगडा पर्यो ।
"ए कान्छी !" चम्पाले आधा सुनिन् ।
"अझ सुन्दिन ! भर्खर गुनगुनाइरहेकी थिई !"
"आ" चम्पाले आङ कर्काइन् । रातको एघार बजेको छ ।
"ए चम्पा ! तेरो कान छैन ? अझ बोल्दिनस् अजिर्नी ?"
चम्पा सासूको कोठामा फन्किँदै पसिन् रिसले । बुढियाको पिँडौलामा घिउ घस्नु थियो ।
"आज पिँडौला चौपट्ट करकर खाइरहेछ । घिउ घसिदेन ए !"
"कस्तो घिउ घस्नुपर्यो… पहाडीको पिँडौला"
च्वाट्ट सासूले सुनिहालिन् । उनले आफ्नो मनमनै भनेँ भन्ठानेकी थिइन् । बस् ! बज्र चड्क्यो ।
"के भनिस् चोथाले ? च्यात्नुपर्यो बेस्सेका गाला ?"
"बेस्से भन्नुपर्दैन आर्कालाई ! हामीले को नाठा खेला