छौँ र ?"
"खूब नबेस्से जस्ती छु भन्ठानेकी होली ए शहरिया पाडी !"
"म केको बेस्से त ? उसै जिभ्रो फट्कार्न पाइन्छ त अर्काले नबिराइकन ? सुन्नेले के भन्लान् ?"
"सबले देखिराख्या छन् आँखाले । सबले सुनिराख्या छन् कानले । असल छु भन्ठान्नुभा होला महारानीसाब !"
"कसैका आँखा फुट्या होवैनन्, कसैका कान फुट्या होवैनन् ए, पित्तले कुह्या आँखा मात्र पहेँलो देख्छ सबैतिर ।"
सासूले डाँको छोडिदिइन्—
"लौ बाबा ! मैले सहन सकिनँ नि बाबा ! यस चोथालेको वचन । मेरा आँखा फुट्या छन् रे, मेरा कान फुट्या छन् रे ! मेरा आँखा पित्तले कुहिएर झर्या छन् रे ! बाबा ! यो कुन शहरियाकी पाडी आइलागेकी हो नि ! मेरी आमाले यसरी गाली गर्या थिइनन् मलाई ! मेरी सौताले यस्तो सराप्या थिइन नि मलाई !"
बस, रडाको चल्यो । आइन् ज्येठी ज्येठानी । आइन् माहिली देवरानी । पसी वसुन्धरी वाइपा । उठे बाजे रमाकान्त अधिकारी ।
"यो केको रडाको हो ए ! मध्यरातमा ?"
तब बेलीवृत्तान्त चले ।
"तैँले सासूसँग त्यसरी मुख लाग्न हुन्छ चोथाले ?"
"मैले केही पनि भन्या छैन । पहाडीयाका छोरी त कस्तो अजमाउन जान्ने हुँदा रान् !"
चम्पाले "रान्" शब्दमा यति नराम्रो तिखो जोड दिइन् कि सासूको ब्रह्माण्ड झन् अखण्ड जल्यो । घरदेखि जब स्त्रीका अधिकारबाट वञ्चित भएको, ज्वलित, दलित चम्पालाई झनक्क रिस उठेको बेलामा आँखा देख्न मुश्किल भयो । उनको व्यक्तित्वले मोचनको बाटो खोजिरहेको थियो । उनको जिभ्रो आज अरू समयभन्दा ज्यादा तिखो तथा कस्टिक थियो ।
सासू झन्झन् डाँको छोड्न लागिन्, त्यससँग एक छानामनि बास गर्न किमार्थ सक्तिनथिन् रे ! पूर्वजन्मकी सौता बदला लिन बुहारी आएकी रे ! पण्डितजीले सबै सासूबुहारीलाई बेस्सरी हप्काए,