कुलो श्रीकृष्ण चाम्पाका निमित्त दिनदिनै फैलिँदै, भरिँदै जान लागे र तिनका स्रोतमा प्रशस्त जल बहन लाग्यो । त्यसउपर पनि अझ विरोधि समालोचना, भयङ्कर टिप्पणी !
संसारमा मानिसहरूलाई न राक्षस भन्नु न दैत्य । कति असहनशील हुन्छन् तिनीहरू ल । अर्काले गरेको धर्मलाई समेत हँस्सी उडाउन सक्ने यी पापिनीहरू !
श्रीकृष्णको चित्र बडो सुन्दर तवरले सिँगारेर चम्पाले आफ्नो कोठाभित्र सजिसजाएर टेबिलउपर राखेकी थिइन् । दिनदिनै माला गाँस्दथिन् । पोशाक लगाइदिन्थिन् । ज्यूनारको समय हुन्थ्यो, स्नानको, सुकलाको, सुसारको समेत । कल्पनाले ती सब चीज कृष्णको चित्रलाई सजीव बनाएर उनका साथमा सम्बन्धित राख्दथ्थ्यो, जति चीजको अभाव चम्पाको घरेलु जीवनको बैँसालु विकासमा उनी आफैँ भित्रभित्र अनुभव गर्ने गर्थिन् ।
उनलाई कहिले पूरा तवरले विश्वास लाग्दथ्यो कि ती कृष्णजी चित्रबाट सजीव भएर जीवनाकार पुरुषका स्वरूपमा चट्ट टेबिलबाट उर्लेर उनका बगलमा जुनेली रात बिताउन सक्थे । सुन्दरतम मानव, एक आदर्श मानवीय, राजसी मानवीय सब युगका स्त्रीहरूको निमित्त आवश्यकीय पाइनुमा नै धर्मको मुख्य आधार र आश्रय बनेको छ ।
चुम्बन, बन्धन, आत्मसमर्पण, छातीटँसाइ, खुसखुस कुरा गराइ, टहल, शुश्रूषा, स्वामीभावना इत्यादि सब भक्तिमार्गका शाखा पनि हुन् तथा यौनभावमा प्रशाखास्वरुप पनि । यस काल्पनिक नाटकीय दाम्पत्यजीवनमा चम्पालाई ठूलो शौक बढ्दै गयो अरू तवरको सदृश आश्रयको अभावले । यो पनि एक किसिमको व्यभिचार ता जरुर थियो, बुझ्न सक्नेहरूका निमित्त; किनकि सब सभ्य व्यभिचारजस्तो असन्तोषप्रेरित आकाङ्क्षाहरूको पूर्ति यहाँ पाइन्थ्यो । त्यस जीवन या पुरुष धनीबाट जसमा समाज स्त्रीलाई सन्तुष्ट राख्न चाहन्थ्यो । तर यो धर्मसमर्थित व्यापारमा आदर्श पति प्रतिबिम्बताको आडमा पुरुषतर्फ कुनै दुर्भावना गरिएको छ भन्नु फजुल थियो ।
चम्पाको, अरु नेपाली दलित अचेत या अर्द्धचेत या अर्द्धविकसित स्त्रीहरूको झैँ व्यक्तित्व विकासको भर्खर आरम्भ हुने चेष्टासम्म