खिसीटेप्ली के हामी यत्ति चिजका निमित्त जन्मिएका छौँ त ?
चम्पाको व्यक्तित्वले आफ्नो गृह नामको जेलखानाको बन्द उकुसमुकुसीबाट आत्मविस्तारको क्षेत्र क्रमशः खोजी गर्न लाग्यो उनलाई घर टिकिसक्नु भएन । एक दिन चम्पा कुनै माइतबाट भेट्न आएको मानिससँग कुरा गर्न लागेकी थिइन् । सासूले उनको हँसाइ, चलाइ इत्यादिबाट उनको चालचलनको टीकाटिप्पणी गर्न थालिन् ।
"यो नचिनेकी हो र ! यो बेस्से हुन्छे, बेस्से !"
चम्पाको हृदय विदीर्ण भयो, यति काइदासँग धर्म सम्झ्यो त्यसको लागि जो आफूलाई "तिम्रो कोही होइन" भनेर त्याग गरेर एक वचनबिना विदेशिन्छ । उनले सहेको, भोगेको कसले देख्यो ? यति गर्दागर्दै ज्येठानी छिमेकीहरूका अगाडि बेस्से हुन्छे ! "बेस्से हुन मन लाग्या भए कस्ले छेक्न आउँथ्यो त कसलाई ? कतिका छोरीबुहारी चोखै रहेका छन् संसारमा त ? … गुन गर्यो भकुन थापा… कस्तो मुखाले घोरमुखाहरू !…"
घर त्यसको नाम हुँदैन जहाँ आफ्नो मालिक्याइँको सम्भावना न्यूनतम मात्रामा पनि छैन । पारिवारिक जीवनको माने तब शुरु हुन्छ जब बुहारीले मातृत्वको आरम्भ गर्दछे । तर चम्पालाई कुनै किसिमको प्राकृतिक या अरू दावा घर नामको विदेशतर्फ लगाउने अवकाश दिइएको थिएन ।
उनको हृदयले तीव्र वेदनाको स्वरमा उद्गार गर्न लाग्यो । "हाय ! अभागिनी चम्पा ! खै तेरो घर ! यत्रो संसारमा तेरो को छ ?"
चम्पालाई घरतर्फ झन्झन् वैराग्य लाग्दै गयो । उनी बोल्नचाल्नसम्म पनि छाड्दै गइन् । कृष्णको पूजातिर ज्यादा ध्यान दिन्थिन् । उनलाई अरू आश्रय या अरू कुनै पक्रिने हाँगो दिइएको थिएन । यौनभाव परम पूजनीय भए तिनको आदर्श आश्रयस्थान जसलाई हामी कृष्णजी भन्छौँ सब स्त्रीजातिका परमेश्वर तथा स्वर्ग मात्र होइनन् कि सब दबाबमा रहेका अन्तरव्यापारका आच्छन्न प्रकाशनका दिव्य मार्गसमेत छन् । ज्यादाजसो ती स्त्रीहरु श्रीकृष्णतर्फ ज्यादा भक्ति गर्न प्रवृत्त रहन्छन् जसमा सामाजिक या घरेलु घटनाले तथा औद्योगिक कर्मका अभावले, आत्मप्रकाशनको बाटो सबभन्दा साङ्ग्रा रहन्छन् । निरोधक