चम्पाले अरूहरूलाई पनि आफूले बुझेका कुराको सङ्केत दिइन् । दुई–चार रोज, हप्ता, पक्ष, एक मास खोजतलासमा बिते । अर्को महिना चिठीको प्रतिक्षामा व्यर्थ तीस पङ्खमा उडेर पश्चिम गयो । त्यसपछि केवल निराशाले रामकान्त अधिकारीको मैतिदेवीको घरमा बास गर्न थाल्यो । त्यस सुनौला पिँजराबाट एक बोल्दो, गम्किँदो चिडिया विशाल विश्ववनमा फुका उडान लिएर आक्कासिएर गएको थियो ।
त्यसपछि चम्पाको घरेलु जीवनमा अनेक कठिनाइहरू उपस्थित भए । उनी साराका अगाडि निरस्त्र योद्धाजस्ती भइन् । सबकी हास्यपात्रा हुन्थिन् उनी । सानो कुरामा पनि खिसिक्क हाँसिदिने माहिली ज्येठानी … चुनु ।
"आज शनिश्चरबार होइन ?"
"खूँ… खूँ… खूँ… खूँ !"
"कत्रो खूँ… खूँ… खूँ… खूँ त ? खुनै चुस्लाजस्तो बा हाँसो तिनीहरुको ! अरू पर्या देखे खूब दाँत बजाउँछन् । खाडलमा पर्या देखे त ब्वाँसो हाँस्या जस्तो हाँसिरहँदा होलान् दिनभरि, कुन्नी ? आइतबार भन्न पनि नहुने !…
सासू पनि मानो पोइलाई निकाल्ने यही हो भनेजस्तो गर्ने घोरमुखा !…
"तँ आएदेखिन् खूब लच्छिन् लागिरहेछ घरमा । मेरो कान्छो छोरालाई रोग लाग्यो तँ आएदेखि । तैँले नै गरेर ऊ घरबाट वैराग्यले निक्ल्यो । राम्रो छ तेरो चालामाला ? कान्छुलाई निकाल्न भित्र पसेकी सेती बिराली । बस ! त्यसका साथ झन् ऊ नै पो रुन थाल्ने, ए !"
"चालामाला ?... कठेनी, पहाडिनीले राम्ररी हाँस्या, खेल्या, चल्या देख्न हुन्छ र ? नाक चलाई रे ! भौँ बङ्ग्याई रे ! त्यस्तो पनि हो ? पनेला चोली लगाउने सासू ता नपरोस् बा कसैलाई ! एकआँठे कपाल बाट्दै थिइन् ल अस्तिसम्म । शुद्ध कठेनी । रेशम लगाएर, सलम लाएर ऐना हेरी रे ! त्यस्तो पनि भन्ने कुरा हो कतै ? कस्तो असभ्य घर छिः ! जिभ्रो ता भो, गाईको के खस्रो होला र ?