"शायद रोगी भएकोले स्त्रीसँग फसे मरिन्छ भनेर भाग्या होला, जोगी भा होला अब । एक वचन त बोल्नुपर्थ्यो हामीसँग पनि ?… कसरी छोड्न सक्नु ! कति निठुरी ढुङ्गा हुँदा रहेछन् पुरुष ?" अब उनको सहारा खै ? उनलाई पाल्ने को ? हेर्ने को ? हाँगा काटिएको लहराजस्तो जगत्का हावा–आँधीमा उनको के दशा हुने अब ? …, उनी बराबर रुन लागिन् । चौपट्ट चित्त दुख्यो । "यसरी अवहेलित हुनु, आह ! मैले के गरेकी थिएँ र ? के बिराएकी थिएँ र ?" हामी यिनका आँसुको विश्लेषण पूरा तवरले गर्न सक्तैनौँ, तर चम्पालाई निसास्सिएजस्तो लाग्यो । रुन मन लाग्यो । उनले भन्न सकिनन् किन ? यो पत्र अरूलाई देखाउन लायक सम्झिनन् । भागेको पक्का रहेछ अब । "सँन्यासी या जोगी भा होला ! कसले के भन्या थियो र ? कसले छुनु भन्या थियो र ? अनैतिक कर्म भए घरवैरागी हुन कल्ले छेक्या थियो र ?" इत्यादि ।
चम्पाको दयाले उसतर्फ पुरुषको हृदयको महती एकान्त वेदनाको एकरत्ती छेउ पक्रन सक्तैनथ्यो । उनी सम्झिन्थिन् कि स्त्री त्याग गरेर जोगी बन्न गए । उनको हृदयमा कुनै कोमल भाव थिएन । फुस्रा हुनेहरूको त कति पनि हिसी हुँदैन । त्यसै जर्जर्ती परेका, अरिमठे मोराहरू दया भए पो मान्छे ! ती पशुपतिमा नागा भएर धुनी जगाउने मोराहरू पनि त्यस्तै हुँदै हुन् । तिनीहरू पनि त एक–एक सुवासिनी रुवाएर घरबाट निस्क्या होलान् नि... दया हुन्छ र दिलका जोगी भएर मात्र ? … मान्छे त्यसै स्वर्ग जान खोज्दछन् ।
दुवैतर्फ भाले तथा पोथीमा स्वार्थका भावनाहरु प्रधान थिए विशेषतया यसकारणले कि तिनीहरुमा एक बलिवेदीमा आत्मआहुतिमा परस्पर प्रदर्शन गरिने मिठासको अब अवकाश बाँकी थिएन । भालेले तीव्र वेदनाले प्रस्थान गरेको थियो नैतिक तत्वका लागिसमेत । पोथी त्यस प्रस्थानको निन्दा गर्दथी । साथसाथै र आफ्नो निस्सहायता तथा जीवनप्रयोजनको आपूर्तिको चेतनाले दुःखित थिई— हतियार हराएका योद्धाहरूझैं जो सङ्ग्रामका क्षेत्रमा आफ्नो बलियो हातबाट विजयास्त्र चट्ट फुत्केर नभेटिने ठाउँमा उडेर पुगेको पाउँछन् । अस्तु !